घर डुबानमा परेपछि नगरपालिकामा तालाबन्दी
नवलपुर, भदौ १४ : स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले तालाबन्दी...
नवलपुर, भदौ १४ : स्थानीयवासीले गैँडाकोट नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन्। बर्सातले आफ्ना घर डुबानमा पर्दा पनि जनप्रतिनिधिले बेवास्ता गरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन्।
अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) गैँडाकोट–४ मा दुई सयभन्दा बढी घर डुबानमा परेका थिए। नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेर स्थानीयवासीले स्थानीय सरकारले जनतालाई डुबानबाट मुक्ति दिन नसकेको जनाउँदै पानीको निकास दिन आफूहरुले नै काम गर्ने बताएका छन्।
गैँडाकोट–४ का तीर्थ पौडेलले निरन्तर परेको पानीका कारण घर डुबानमा परेपछि घरमा खान, बस्न, सुत्न समस्या हुँदा समेत स्थानीय सरकारले चासो नदिएको गुनासो गरे। अव्यवस्थितरुपमा बस्ती बसाइएको र पानीको निकास नगरिँदा आफ्नो घर तथा पसल डुबानमा परेको उनले बताए।
पूर्वपश्चिम राजमार्गसँगै जोडिएको राजमार्गको उत्तरतर्फ पर्ने गैँडाकोट–४ मा घर तथा पसल डुबानमा परेका हुन्। उनका अनुसार डुबानका कारण स्थानीयवासीका लाखौँ रुपैयाँ बराबर नोक्सान भएको छ।
आफूहरुलाई बर्खे पानीको निकास चाहिएको तर जनप्रतिनिधिले निकासमा वास्ता नगरेपछि बाध्य भएर तालाबन्दी गरिएको उनले बताए। पानी निकासका लागि नगरपालिकाले वडा कार्यालयलाई देखाउने वडा कार्यालयले नसक्ने भनेपछि स्थानीय रुष्ट भएका स्थानीयवासी अमिन श्रेष्ठले गुनासो गरे।
उनका अनुसार अघिकांश एक तले घर डुबानमा परेपछि खाना बस्नका साथै शौचालय जान पनि नसकिने अवस्था रहेको छ। यस क्षेत्रमा बर्खाको बेलामा प्रत्येक वर्ष एउटै समस्या दोहोरिने गरेको भए पनि यसको दीर्घकालीन समाधान भने हुन नसकेको उनले बताए।
गैँडाकोट–४ का वडाध्यक्ष कृष्णप्रसाद न्यौपानेले वडाले मात्रै निकास दिन नसक्ने भएकाले सबैको समन्वयमा मात्र काम गर्न सकिने बताए। नगरप्रमुख छत्रराज पौडेलले सो स्थानमा बर्सेनि समस्या दोहोरिने गरेको र अस्थायी रुपमा भए पनि पानीको निकास गरिने बताए।
जेसिभीलगायतका उपकरणको प्रयोग गरी नगरभित्र जमेको पानीलाई नारायणी नदीतर्फ निकास गर्ने काम तुरुन्त सुरु गरिहाल्ने नगर प्रमुख पौडेलले बताए। अस्थायीरुपमै भए पनि जमेको पानी हटाउनतर्फ नगरपालिकाको पहल रहने उनको भनाइ छ। (रासस)



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
