काबुल विमानस्थल नजिकै विस्फोटन
काठमाडौं, भदौ १३ : अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको छ ।सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो...
काठमाडौं, भदौ १३ : अफगानिस्तानको काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिकै ठूलो विस्फोटनको आवाज सुनिएको छ ।
सामाजिक सञ्जालमा पोस्ट गरिएका केही तस्बिरहरूमा धुवाँको कालो मुस्लो देखिएको छ। बिमानस्थलमा विस्फोटन भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले पुष्टि गरेका छन्। विस्फोटनको कारण स्पष्ट भइसकेको छैन तर स्वास्थ्य मन्त्रालयका एक जना अधिकारीले विमानस्थल नजिकै रहेको एउटा घरमा रकेट ठोक्किएको जनाएका छन्।
घटनामा केहि मानिसहरू हताहत भएको अनुमान गरिएको छ । केहि समय अघि मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले काबुल विमानस्थलमा पुनः हमला हुन सक्ने चेतावनी दिएका थिए। बाइडनले अमेरिकी कमान्डरहरूले आफूलाई चाँडोमा आइतवार नै पनि त्यस्तो हमला हुन सक्ने जानकारी दिएको जनाएका थिए।
अमेरिकी विदेश मन्त्रालयले अमेरिकी नागरिकलाई खतरा रहेकाले विमानस्थल क्षेत्रबाट बाहिर रहन भनेको छ। अमेरिका आफ्ना नागरिकलाई अफगानिस्तानबाट स्वदेश फर्काउने काम गरिरहेको छ। गत बिहीवार विमानस्थल नजिकै भएको एक आत्मघाती हमलामा कम्तीमा १७० जनाको ज्यान गएको थियो।












