Kathmandu Press

६ वर्षमा ४२ बालबालिकाको ‘बेवारिसे शव’

‘पहिले द्वन्द्व, बाढी–पहिरो, अभिभावक गुमाएका बालबालिका बेसहारा बन्न पुग्थे। अहिले महिला–पुरुषको अनैतिक सम्बन्ध, आर्थिक अवस्था, बालबालिकाको स्वास्थ्य अवस्थाका कारण बेसहारा बन्न पुगेको पाइन्छ।’
६ वर्षमा ४२ बालबालिकाको ‘बेवारिसे शव’

काठमाडाैं, भदाै १३ : गत असारमा दुई बालिकाको बेवारिसे शव भेटियो। वाग्मती प्रदेशको सिन्धुपाल्चोक, बलेफी गाउँपालिका– २ नौबिसे ब्राह्मिणी खोलामा अनुमानित ४–५ वर्षकी बालिकाको शव टाउको नभएको, सडिगली शरीरको मासुको भाग छुट्टिएको अवस्थामा भेटिएको थियो। त्यस्तै, गण्डकी प्रदेशको बाग्लुङ नगरपालिका– १ मालढुंगामा एक बालिकाको शव भेटिएको थियो।

प्रहरीका अनुसार, तीन–चार सातासम्म हकवाला कोही नआएपछि दुवै शवलाई बेवारिसे घोषणा गरी जलाइयो। प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर भन्छन्, ‘शव भेटिएपछि प्रहरी प्रशासनको हरेक तहमा सूचना दिइन्छ। सामाजिक सञ्जालमा पनि पहिचान खुल्ने गरी फोटो र सामग्री राखिन्छ। हकवाला कोही नआए बालबालिकाको बेवारिसे शवलाई गाड्ने र जलाइने गरिन्छ।’

भर्खर जन्मिएका बालबालिकाको शव गाडिन्छ भने दुई–तीन वर्ष पुगिसकेकाको शवलाई जलाइन्छ। धेरैजसो बालबालिकाको शव जंगल र नदीको किनारमा भेटिने प्रवक्ता कुँवर बताउँछन्। उनका अनुसार, अभिभावकको लापरबाही र अनौतिक सम्बन्धबाट जन्मेका बालबालिका बेसहारा हुने र कुनै घटना, दुर्घटनावश मृत्यु हुने गरेको देखिन्छ।

Hardik ivf

त्यस्तै, आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका हराउँदा कम खोजी गरिन्छ। जसका कारण बालबालिका बेवारिसे बन्न पुग्छन्। ‘धेरैजसो बालिकाको शव दुव्र्यवहारको सिकार भएको अवस्थामा भेटिन्छ,’ प्रवक्ता कुँवर भन्छन्, ‘हकवाला कोही नआएपछि कानुनी कारबाही समेत अगाडि बढ्दैन। घटनाको कारण खोज्ने प्रयास गरिन्छ। तर, बेवारिसे शव भएका कारण कतिपय घटनाको प्रकृति थाहा भएर पनि मुद्दा दर्ता गरी अगाडि बढाउन सकिँदैन।’

वार्षिक दुईदेखि ११ जनासम्म बेवारिसे बालबालिकाको शव फेला परेको प्रवक्ता कुँवर बताउँछन्।

६ वर्षमा ४२ शव

पछिल्लो ६ वर्ष (०७२ देखि ०७८ सम्म)मा ४२ बालबालिकाका बेवारिसे शव फेला परेको प्रहरीको तथ्यांक छ। जसमध्ये २० बालक र २२ बालिका थिए।

आर्थिक वर्ष ०७२/७३ मा ११ बालबालिकाका बेवारिसे शव भेटिए। जसमा पाँच बालक र ६ बालिका थिए। ‘०७२ यता सबैभन्दा धेरै ०७२/७३ मा बालबालिकाको बेवारिसे शव भेटिएका छन्,’ प्रवक्ता कुँवर भन्छन्, ‘भूकम्पले गर्दा यस वर्ष धेरै शव भेटिएको अनुमान गरिएको छ।’

आर्थिक वर्ष ०७३/७४ मा एक बालक र एक बालिकाको बेवारिसे शव भेटियो। त्यस्तै, आर्थिक वर्ष ०७४/७५ मा ६ बालबालिकाका बेवारिसे शव फेला परे। जसमा चार बालक र दुई बालिका थिए। ०७५/७६ मा सात बालबालिकाका बेवारिसे शव भेटिए। जसमा दुई बालक र पाँच बालिका थिए। ०७६/७७ मा नौ बालबालिकाका बेवारिसे शव फेला परे। जसमा पाँच बालक र चार बालिका थिए। ०७७/७८ मा सात बालबालिकाका बेवारिसे शव फेला परे। जसमा तीन बालक र चार बालिका थिए।

बालबालिकाको शव कसरी बेवारिसे ?

समाजशास्त्री मीना उप्रेती पछिल्लो समय अनैतिक सम्बन्धका कारण जन्मन पुगेका बालबालिका र विविध कारण सम्बन्धविच्छेद गरेका बाबुआमाका साना सन्तान बेसहारा बन्न पुग्ने बताउँछिन्।

उनको अध्ययन अनुसार, कतिपय बालबालिकाको वैधानिक बाबुआमा भए पनि जन्मजात समस्या भएका कारण उनीहरूलाई सडकमा छाडिन्छ। तिनै बालबालिकाको मृत्यु भएमा ‘बेवारिसे शव’ बन्न पुग्छन्। ‘पहिले द्वन्द्व, बाढी–पहिरो, अभिभावक गुमाएका बालबालिका बेसहारा बन्न पुग्थे,’ उनी भन्छिन्, ‘अहिले महिला–पुरुषको अनैतिक सम्बन्ध, आर्थिक अवस्था, बालबालिकाको स्वास्थ्य अवस्थाका कारण बेसहारा बन्न पुगेको पाइन्छ।’

यतिखेर अधिकांश आम नागरिकको गुजाराको माध्यम वैदेशिक रोजगारी भइरहेको छ। पहिले रोजगारीका लागि गाउँघर छाडेर बजार, सहर, भारत हुँदै विभिन्न मुलुक पुग्ने पुरुष हुन्थे। भारतीय र ब्रिटिस आर्मीमा लाहुरे हुने पनि पुरुष हुन्थे। पछिल्लो २० वर्षयता महिला सशक्तीकरण तथा स्वतन्त्रताको कुरा उठ्न थाले। जसका कारण महिला पनि रोजगारीका लागि घर–परिवारबाट टाढा बस्छन्।

श्रीमान् तथा श्रीमतीबाट टाढा बस्ने महिला वा पुरुष अन्य व्यक्तिसँग आकर्षित भई अनैतिक सम्बन्ध राख्न पुग्छन्। ‘यसरी जन्मिएको बच्चालाई सडकमा छाडिदिने गरेको पाइन्छ,’ समाजशास्त्री उप्रेती भन्छिन्, ‘मानवता भएका महिलाले बच्चा नमरोस् भनेर अस्पताल तथा सुरक्षित स्थानमा छाडिदिन्छन्। कतिपयले मारेर पुर्ने तथा खोलामा फालिदिने गरेको समेत पाइएको छ। भ्रूणहत्या हुने घटना झन् धेरै छन्।’

उनका अनुसार, भर्खरका बालबालिका र १०/१२ वर्षको बालबालिका बेसहारा हुनुुमा कारण फरक हुन सक्छन्। भर्खर जन्मिएको बच्चा बेसहारा हुनुु वा उनीहरूको बेवारिसे शव भेटिनुमा विवाहित महिला र पुरुषको अनैतिक सम्बन्ध र युवायुवतीको यौन सम्बन्ध सुरक्षित नहुनुलाई मानिन्छ। १०/१२ वर्षका बालबालिकाको बेवारिसे शव भेटिनुमा आमाबुवाको लापरबाही, अभिभावक नहुुनु, आर्थिक कारण हुन सक्ने उनको भनाइ छ। ‘अहिले महिलामा भावुकता कम भएको हो कि जस्तो लाग्छ। पहिले सन्तानलाई सबैभन्दा धेरै माया महिलाले गर्छन् भन्ने मान्यता व्यापक थियो,’ उनी भन्छिन्, ‘तर, अहिले महिलाले  आफ्ना बालबालिका छाडेर हिँड्न थालेका छन्। बालबालिकालाई घर–परिवारबाट टाढै राख्न थालिएको छ। जुन चिन्ताको विषय हो।’ यसमा समाज र राज्यको पनि दोष रहेको उनी बताउँछिन्।

समाजमा यौनप्रतिको बुझाइ स्पष्ट हुनुपर्ने, यौनबारे गलत मान्यता हट्नुपर्ने र हरेकलाई यौन शिक्षा दिइनुपर्ने उनी बताउँछिन्। त्यस्तै, बालबालिकाको सुरक्षामा राज्य पनि जिम्मेवार हुनुपर्छ।

विभाग र मन्त्रालयसँग योजना छैन

बेसहारा बालबालिकाको सुरक्षा अर्थात् मृत्यु न्यूनीकरणमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग कुनै योजना देखिँदैन। पछिल्लो समय बेवारिसे शव व्यवस्थापन निर्देशिका, ०७८ स्वीकृत गरिएको छ। आगामी दिनमा बालबालिकाको बेवारिसे शव व्यवस्थापनसहित यसको न्यूूनीकरणका लागि कदम चाल्ने मन्त्रालयका प्रवक्ता उमेश ढुंगाना बताउँछन्। ‘बालबालिकालाई सुरक्षित राख्न उचित कदम चाल्छौँ,’ उनले भने, ‘अहिले बेसहारा बालबालिकाको मृत्यु न्यूूनीकरणका लागि कुनै काम भएको छैन।’

महिला तथा बालबालिका विभागकी प्रवक्ता दुर्गादेवी देवकोटा बेसहारा बालबालिकाको सुरक्षामा आफूहरूसँग कुनै योजना नभएको बताउँछिन्। ‘यसको जिम्मेवारी राष्ट्रिय बाल अधिकार परिषद्लाई जिम्मा दिइएको छ,’ उनले भनिन्।

सडक बालबालिकाको उद्धार तथा व्यवस्थापनमा आफूहरूले जोड दिइरहेको राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेल बताउँछन्।

 

प्रकाशित मिति: १४:१५ बजे, आइतबार, भदौ १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्