मेन्स्ट्रुअल कप: सुरक्षित, व्यवहारिक र सस्तो
सस्तो र दोहोर्याएर प्रयोग गर्न मिल्ने ‘मेन्स्ट्रुअल कप’ सुरक्षित हुनुका साथै ‘डिस्पोजेबल प्याड’वा ‘ट्याम्पोन’जत्तिकै प्रभावकारी भएक....
सस्तो र दोहोर्याएर प्रयोग गर्न मिल्ने ‘मेन्स्ट्रुअल कप’ सुरक्षित हुनुका साथै ‘डिस्पोजेबल प्याड’वा ‘ट्याम्पोन’जत्तिकै प्रभावकारी भएको एउटा अध्ययनले देखाएको छ।
मेन्स्ट्रुअल कपको परीक्षण गरेका करिब ७० प्रतिशत महिलाले निरन्तर प्रयोग गर्न चाहेको ‘द लान्सेट पब्लिक हेल्थ’ जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ। ‘स्यानिटरी’ सुरक्षा विश्वभरका धेरै महिलालाई उपलब्ध नभएको र धेरैसँग यस्ता सामग्री किन्ने क्षमता पनि नभएको प्रतिवेदनमा बताइएको छ।
त्यसैले, महिनावारीको समयमा धेरै बालिका र महिला विद्यालय वा काममा जानबाट वञ्चित हुन्छन्। कमसल गुणस्तरको वा काम चलाउ उत्पादन प्रयोग गरे ‘युरिनरी ट्रयाक्ट इन्फेक्सन’ वा युटिआइ हुने जोखिम पनि हुन्छ। रक्तश्राव लुकाउन नसक्ने बालिका वा महिला हिंसामा पर्ने सम्भावना पनि छ। प्याड र ट्याम्पोनको सुरक्षित, सस्तो र टिकाउ विकल्पले लाखौंको जीवनमा परिवर्तन ल्याउनेछ।
‘विश्वभर एक अर्ब ९० करोड महिला महिनावारी हुने उमेरका छन्। उनीहरूले वर्षको ६५ दिन महिनावारी हुने रक्तश्राव व्यवस्थापनमा बिताउने गर्छन्। तर स्यानिटरी उत्पादनको तुलना गर्ने एकाध गुणस्तरीय अध्ययन मात्रै भेटिन्छ,’ लिभरपुल स्कूल अफ ट्रपिकल मेडिसिनकी प्राध्यापक पेनेलोपी फिलिप्स-हावर्डले भनिन्।
नयाँ अनुसन्धानले पहिले नै गरिएका ४३ वटा अध्ययनको समीक्षा गरेको छ। ती अध्ययनमा तीन हजार तीन समय महिलाबाट डाटा संकलन गरिएको छ। कमैले मात्र सुनेको मेन्स्ट्रुअल कपको मुल्याङ्कन गर्ने यो नै पहिलो अध्ययन हो।
मेन्स्ट्रुअल कप ‘मेडिकल ग्रेड सिलिकन’, रबर वा ‘ल्याटेक्स’बाट बनाइन्छ। प्याड र ट्याम्पनभन्दा विपरीत यसता कपले रगत सोस्दैन, संकलन गर्दछ। कपलाई योनीभित्र राखिन्छ र प्रत्येक चारदेखि १२ घण्टामा खाली गरिन्छ। यसता कप दुई प्रकारका छन्। घण्टी आकारको ‘भजाइनल कप’ र अर्को ‘सर्भिकल कप ’।
समीक्षा गरिएका चारोटा अध्ययनमा स्यानिटरी प्याड वा ट्याम्पोनजत्तिकै वा तीभन्दा प्रभावकारी भएको पत्ता लागेको छ। अनुसन्धानले संक्रमणको जोखिम देखाएन। तर, ‘टक्सिक शक सिन्ड्रोम’(टिएसएस) का पाँच वटा घटना भेटिए।
विभिन्न सामग्रीको माध्यमबाट शरीरमा प्रवेश गर्ने ब्याक्टेरियाले ज्यानको जोखिम हुने अवस्थालाई टिएसएस भनिन्छ। मेन्स्ट्रुअल कप प्रयोग गर्नेहरूको समग्र संख्या थाहा नभएकाले अनुसन्धाताले ट्याम्पोनको तुलनामा टिएसएसको जोखिम निर्धारण गर्न सकेनन्। ट्याम्पोनले टिएसएसको जोखिम वृद्धि गर्दछ।
केही देशमा एउटा मेन्स्ट्रुअल कपको मुल्य एक डलर अमेरिकी डलरभन्दा कम भएको र १२ वटा प्याड वा ट्याम्पोनभन्दा पाँचदेखि सात प्रतिशत सस्तो भएको अध्ययनको निष्कर्ष छ। तर यो कप दोहोर्याीएर प्रयोग गर्न सकिन्छ र दश वर्षसम्म टिक्छ। त्यसैले अन्य ‘डिस्पोजेबल’ विकल्पभन्दा दीर्घकालमा यो नै सस्तो हुन आउँछ।
तर केही स्थानमा मेन्स्ट्रुअल कप महँगो छ। त्यहाँ एउटा कपको मुल्य ४० अमेरिकी डलरसम्म पर्छ। ‘महिनावारी सम्बन्धी उत्पादन खरिद गर्ने ग्राहकका लागि मेन्स्ट्रुअल कप नै सुरक्षित र सस्तो विकल्प हो,’ जन हप्किन्स ब्लुमबर्ग स्कूल अफ पब्लिक हेल्थकी जुली हेन्नेथगनले भनिन्।
तर, धनी देशमा पनि औसत पाँचमध्ये एक जना महिलालाई मात्रै महिनावारी हुँदा प्रयोग गर्ने यो नयाँ उपकरणबारे थाहा भएको समीक्षा गरिएकामध्ये तीन वटा अध्ययनले पत्ता लगाएका छन्। ९९ देशमा झण्डै दुई सय ब्रान्ड उपलब्ध छ। तर २७ वटा देशका किशोरावस्था सम्बन्धी शैक्षिक जानकारी र सल्लाह दिने एक तिहाइ वेबसाइटमा मात्रै यस्ता कपको उल्लेख पाइन्छ।