भेइकल ट्रयाकिङ सिस्टम तत्काल अनिवार्य नगर्न भन्दै व्यवसायीको प्रदर्शन
काठमाडौं, साउन ३ : सरकारले साउन १ गतेदेखि लागू गरेको भेइकल ट्रयाकिङ सिस्टमविरुद्ध व्यवसायीहरु आन्दोलित भएका छन्। तत्काल भेइकल ट्रयाकिङ सिस्टम अनि....

काठमाडौं, साउन ३ : सरकारले साउन १ गतेदेखि लागू गरेको भेइकल ट्रयाकिङ सिस्टमविरुद्ध व्यवसायीहरु आन्दोलित भएका छन्। तत्काल भेइकल ट्रयाकिङ सिस्टम अनिवार्य नगर्न माग गर्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा शुक्रबार काठमाडौंको न्यूरोडमा व्यवसायीहरुले प्रदर्शन गरेका हुन्।
राजश्व अनुसन्धान विभागले शुरु गरेको भेइकल ट्रयाकिङ सिस्टम एक वर्षलाई परीक्षणको रुपमा लागू गर्नु पर्ने माग व्यवसायीको छ। महासंघले यसअघि पनि सरकारलाई केही समय परीक्षणको रुपमा काम गर्नु पर्ने भएकाले तत्काल अनिवार्य नगर्न आग्रह गरेको थियो।
तर, व्यवसायीको असहमतिका बाबजुत साउन १ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले भेइकल ट्रयाकिङ सिस्टमको शुभारम्भ गरेका थिए।
राजश्व अनुसन्धान विभागले तीन महिनाको अवधिभरलाई परीक्षणको अवधि मान्ने बताएको छ। तर, व्यवसायीहरुले भने परीक्षणको अवधि एक वर्ष हुनु पर्ने माग राख्दै आएका छन्। सरकारले ल्याएको नीतिलाई आफूहरुले स्वीकार गर्ने भएपनि परीक्षणको अवधि एकदमै कम रहेको महासंघका अध्यक्ष नरशे कटुवालले बताए।
न्यूरोडको विशाल बजारमा प्रदर्शनपछि आयोजित कोणसभालाई सम्वोधन गर्दै महासंघ अध्यक्ष कटुवालले भने,‘सरकारको नीति आउनै हुँदैन भनेको होइन, कमसेकम हामीलाई सिक्ने अवधि त चाहियो नि।’
अहिले मुलुकमा साक्षरताको अवस्था नै निकै कमजोर रहेको अझ प्रविधिमा त कममात्रै नागरिकको पहुँच पुगेको भन्दै उनले पहिले प्रविधिबारे सिकाएरमात्रै लागू गर्नु पर्ने बताए।

-1784896419.png)









