Kathmandu Press

मोहन बस्नेतको आरोप-नेकपाका केही नेता मेरो बदनाम गर्न खोज्दैछन्

काठमाडौं, साउन ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफ्नो बदनाम गराउ....

मोहन बस्नेतको आरोप-नेकपाका केही नेता मेरो बदनाम गर्न खोज्दैछन्

काठमाडौं, साउन ३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरु आफ्नो बदनाम गराउन सक्रिय रहेको आरोप लगाएका छन्।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पूर्वसञ्चारमन्त्रीसमेत रहेका नेता बस्नेतले एक सहकारी संस्थामा स्रोत नखुलेको आफ्नो ६१ करोड रुपैयाँ बचत रहेको झुटो समाचार सम्प्रेषण गर्न लगाउने काममा सत्तारुढ नेकपाकै नेताहरुको संलग्नता रहेको दाबी गरेका हुन्।

काठमाडौंको महावाैद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थामा पूर्वमन्त्री बस्नेतको नाममा स्रोत नखुलेको ६१ करोड रुपैयाँ बचत रहेको र सो सम्बन्धमा अख्तियारले छानविन सुरु गरेको समाचार बाहिर आएको थियो। पत्रकार सम्मेलनमा बस्नेतले सो सहकारीमा आफू र आफ्नो परिवारका  सदस्यको कुनै पनि खाता नरहेको पनि बताए।

बस्नेतले सो सहकारी संस्थाको नाम आफूविरुद्धको समाचार आएपछि मात्रै थाहा पाएको बताए। ‘६१ करोड रुपैयाँ रहेको भनिएको सहकारी संस्थाले आजै विज्ञप्ति निकालेर मेरो नाममा कुनै खाता नरहेको कुरा भनिसकेको छ,’ बस्नेतले भने। उनले आफूमाथि झुटा आरोप लगाइएकाले भ्रममा नपर्न पनि सबैलाई आग्रह गरे।

उनले मिडिया काउन्सिल विधेयकको विरुद्धमा आफू उभिएपछि सत्तारुढ दलकै केही नेताको संलग्नतामा आफ्नो सामाजिक तथा राजनीतिक प्रतिष्ठामाथि नै आँच आउने गरी कपोलकल्पित समाचार सम्प्रेषण गराराइएको आरोप पनि लगाए।
 

प्रकाशित मिति: १८:१० बजे, शुक्रबार, साउन ३, २०७६