Kathmandu Press

उद्धार र राहत वितरण उच्च प्राथमिकतामा: गृहमन्त्री थापा

काठमाडाैं, साउन ३ : सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।

गृहमन्त्री रामबहादु....

उद्धार र राहत वितरण उच्च प्राथमिकतामा: गृहमन्त्री थापा

काठमाडाैं, साउन ३ : सरकारले बाढीपहिरो र डुबानबाट पीडितहरुको उद्धार तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ।

गृहमन्त्री रामबहादुर थापाले देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिको विवरण सङ्कलन गरी खोज, उद्धार तथा राहत वितरणको कार्यलाई प्रभावकारी रुपमा सञ्चालन गरिएको जानकारी दिएका हुन्। 

राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा प्रस्तुत भएका सार्वजनिक महत्वका प्रस्तावमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उनले गत असार २६ गतेदेखिको अविरल वर्षाले ३४ जिल्ला प्रभावित भएका तथा हालसम्म ९० जनाको मृत्यु भएको, ४१ जना घाइते, २९ जना बेपत्ता र एक हजार ३०० भन्दा बढी घरपरिवार विस्थापित भएका जानकारी दिए।
    
उनले प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायका ४१ हजार सुरक्षाकर्मी परिचालन भएका र आजसम्म तीन हजार ३६६ जनाको सकुशल उद्धार गरिएको बताए। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको, प्रभावितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिनुका साथै बेपत्ता भएका व्यक्तिको खोजीकार्य भइरहेको छ। उद्धारको कार्यमा सम्बन्धित जिल्लास्थित सबै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, रेडक्रसलगायत विभिन्न सामाजिक संघसंस्था परिचालन गरिएका गृहमन्त्री थापाले सदनलाई जानकारी गराएका थिए। 

उनले राहत, उद्धार तथा पुनःस्थापनाका लागि अझ प्रभावकारी बनाउन तीनवटै सरकार समन्वयात्मक रुपमा परिचालन भएका उल्लेख गर्दै हराइरहेकाको खोजीकार्य जारी रहेको बताए।  आपतकालीन उद्धार तथा राहतका लागि हेलिकप्टर तैनाथ अवस्थामा राखिएको, १४ स्थानमा तटबन्ध निर्माण, ९ स्थानमा पहिरो पन्छाउने, सात स्थानमा खोलाको निकास खोल्ने काम भइरहेको गृहमन्त्री थापाले जानकारी दिए। 

डुबान क्षेत्रमा रोग फैलिन नदिन आवश्यक औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरिएको छ। जलवायु परिवर्तनको जोखिम विश्वमै चुनौतीका रुपमा देखा परेको र विकसित मुलुकका कारण नेपाल प्रत्यक्ष मारमा परेको उनले बताए।
 

प्रकाशित मिति: १७:४४ बजे, शुक्रबार, साउन ३, २०७६