Kathmandu Press

अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस-के समूहका योजनाकार’को मृत्यु

काबुल, भदौ १२ : अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस-के) भन्ने समूहका सदस्यहरूको मृत्यु...
अमेरिकी ड्रोन आक्रमणमा ‘आइएस-के समूहका योजनाकार’को मृत्यु

काबुल, भदौ १२ : अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहविरुद्ध हवाई आक्रमण गरेको र उक्त आक्रमणमा इस्लामिक स्टेट खोरसान (आइएस-के) भन्ने समूहका सदस्यहरूको मृत्यु भएको अमेरिकी सेनाले बताएको छ।

अमेरिकाले नानगहार प्रान्तमा गरिएको सो कारबाहीमा  एउटा ड्रोनको प्रयोग गरिएको शनिबार पुष्टि गरेको छ।

यसअघि अमेरिकी सैनिकहरूले काबुल विमानस्थलमा सुरक्षा दिइरहेका समय बिहीबार विमानस्थलनजिकै १ सय ७० जनाको ज्यान लिने गरी उक्त समूहले आक्रमण गरेको थियो।

काबुल विमानस्थलबाहिर उद्धारको पर्खाइमा रहेको महिला, पुरुष र बालबालिकाको भिडमा उक्त आत्मघाती विस्फोटन गराएइको थियो।

आइएस-केले विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएको बीबीसीले बताएको छ। सो समूहले काबुल विमानस्थल बाहिर रहेको महिला, पुरुष र बालबालिकाको भिडमा आत्मघाती विस्फोटन गराएको थियो।

यसैबीच काबुलमा रहेका अमेरिकी अधिकारीहरूले थप आक्रमणहरूलाई ध्यान दिँदै विमानस्थलको प्रमुख क्षेत्रहरूभन्दा परै बस्न नयाँ चेतावनी जारी गरेका छन्।

त्यस्तै वरिष्ठ तालिबान अधिकारीहरूले उनीहरूले काबुल विमानस्थलको मुख्य भाग नियन्त्रणमा लिएको र अमेरिकीहरू जानेबित्तिकै सम्पूर्ण विमानस्थल कब्जामा लिने बताएका छन्। अमेरिकाले अन्तिम समयसम्म अफगानहरूको उद्धार जारी राख्ने र विमानस्थल अझै पनि आफ्ना फौजको नियन्त्रणमा रहेको बताइरहेको छ।

अमेरिकाले नानगहारमा गरिएको ड्रोन आक्रमणबारे प्राप्त ‘प्रारम्भिक सङ्केतहरूले’ इस्लामिक स्टेटका सदस्य मारिएको र कुनै पनि गैरसैनिक हताहत नभएको बताएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडनले बिहीबारको आत्मघाती आक्रमणमा संलग्न जिहादीलाई अमेरिकाले नछाड्ने बताएको केही घन्टापछि उक्त कारबाही गरिएको छ। इस्लामिक स्टेट समूहको एउटा सानो संगठनका रूपमा रहेको उक्त समूह अफगानिस्तानको सबैभन्दा उग्र र हिंसात्मक जिहादी लडाकू समूह हो। 

प्रकाशित मिति: १३:१७ बजे, शनिबार, भदौ १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्