Kathmandu Press

१२ देशले अबको एक दशकमा ५० लाख महिला गुमाउने वैज्ञानिकहरूको चेतावनी

सन् १९७० को दशकयता चीन, भारतसहित १२ देशमा लिंग पहिचान गरेर गर्भपतन गराउँदा दुई करोड ३० लाखदेखि चार करोड ५० लाख महिला संसार नै नदेखी हराए।
१२ देशले अबको एक दशकमा ५० लाख महिला गुमाउने वैज्ञानिकहरूको चेतावनी

सन् १९७० को दशकयता चीन, भारतसहित १२ देशमा लिंग पहिचान गरेर गर्भपतन गराउने क्रम बढ्दो क्रममा छ। जसकारण दुई करोड ३० लाखदेखि चार करोड ५० लाख महिला संसार नै नदेखी हराए।

सन् २०३० सम्ममा ती १२ देशले कम्तिमा पनि थप ४७ लाख महिला जनसंख्या नजन्मिँदै गुमाउने एक वैज्ञानिक अनुसन्धानले देखाएको छ। यसले ती देशको लैंगिक अनुपात झन् फराकिलो बनाउने निश्चित छ।

२०४ वटा देशमा भएका तीन अर्ब २६ करोड जन्मको आँकडालाई एक नमूनामा ढालेर सो अध्ययन गरिएको थियो। जसअनुसार १२ वटा देशमा लैंगिक अनुपात उकालो लागेको देखिएको थियो भने १७ वटा देश सोही दिशामा अग्रसर रहेको अध्ययनको निष्कर्ष थियो।

सो अध्ययनबाट केही सकारात्मक संकेत पनि नदेखिएका भने होइनन्। ती १२ देशमा देखिएको लैंगिक अनुपातको अवस्था पछिल्लो समय भने सुधारोन्मुख देखिएको छ। मुख्यतः भारत र चीनमा लैंगिक अनुपातको अवस्था सुधारोन्मुख देखिएको हो।

१९७० पछि भ्रुणको लिंग पहिचान गर्ने प्रविधि भित्रिएको थियो। त्यससँगै लिंग पहिचान गरी गर्भपतन गराउने क्रम ह्वात्तै बढेको हो। अध्ययनले सन् २१०० सम्ममा त्यसैका कारण ५७ लाख महिला ‘हराउने’ देखाएको छ। सन् १९७० को दशकपछिको तुलनामा यो निकै कम संख्या हो।

यद्यपि, यो संसारमा जन्मनै नपाउने महिलाहरूको त्यो ठूलो जनसंख्या हो।

चीन र भारतमा महिलाभन्दा पुरुषको जनसंख्या लगभग सात करोड बढी छ। तर, पछिल्लो समय छोरीको जन्म हुँदा सहुलियत, उपहारलगायत प्रोत्साहन योजना ल्याइएकाले लैंगिक अनुपात सन्तुलनमा आउने संकेत देखिएको हो।

त्यसका अलावा धेरै देशमा लिंग पहिचान गरेर गर्भपतन गर्न गैरकानूनी पनि बनाइएको छ। यसले पनि लैंगिक अनुपात सन्तुलनमा टेवा पुर्‍याएको छ।

 

प्रकाशित मिति: ०६:५४ बजे, शनिबार, भदौ १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्