प्रधानमन्त्री ओलीलाई बालुवाटार असुरक्षित भए सैनिक मुख्यालयमा बसे हुन्छः सीपी गजुरेल
काठमाडौं, साउन ३ : नेकपा क्रान्तिकारी माओवादी आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीला....

काठमाडौं, साउन ३ : नेकपा क्रान्तिकारी माओवादी आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई असुरक्षा भएको भए भ्रदकालीमा रहेको आर्मीको हेडक्वार्टरमा गएर बस्न सुझाव दिएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गजुरेलले भने,‘बालुवाटारको हेडक्वार्टरमा असुरक्षित भए ओलीजी भद्रकालीमा रहेको मिलिटरी हेडक्वार्टरमा गएर बसे हुन्छ। तर, पार्टीमाथि प्रतिबन्ध लगाउने काम गर्नु हुन्न।’
उनले सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण कार्यक्रम गर्नसमेत बन्देज लगाएको पनि बताए। ‘सरकारले शान्तिपूर्ण कार्यक्रम पनि गर्न दिएन। विप्लवजीहरुसँग कि त राजनीति छोड्नुपर्ने विकल्प हुन्छ कि त भूमिगत हुनुपर्ने। होइन भने बादलहरुजस्तै आत्मसमर्पण गर्नु पर्ने थियो। तर, राजनीति गर्नेले त्यसो गर्दैन। भूमिगत भएर पनि राजनीति सञ्चालन गर्नुपर्छ,’ उनले भने।
वर्तमान सरकारले सुनियोजित ढंगले अहिलेको परिस्थिति सिर्जना गरेको उनको आरोप छ। अहिले सरकारले फेक इन्काउन्टरको नाममा निहथ्था नागरिकको हत्या गर्ने काम गरेको पनि गजुरेलको आरोप छ। उनले भने,‘यस्तो खालको हत्या त जनयुद्ध र पञ्चायताकालीन अवस्थामा पनि हुँदैन थियो।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आइसकेको बताए। गजुरेलले भीडन्तहरु हुँदै गए देश आन्तरिक गृहयुद्धमा रुपान्तरण हुने खतरा पनि रहेको बताए। उनले भने,‘अहिलेको परिस्थिति ल्याउनको लागि ओलीजीको सरकार जिम्मेवार छ।’ उनले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाउनु नै गलत भएको पनि टिप्पणी गरे।
एनसेलको मुख्यालयमा भएको प्रेसर कुकर बमकाण्डलाई लिएर सरकारले विप्लवमाथि प्रतिबन्ध लगाएको उनले बताए। ओली सरकारले अहिले मुलुकमा फाँसीवाद लागू गरेको पनि उनले टिप्पणी गरे।

-1784896419.png)









