Kathmandu Press

कांग्रेस उपसभापति निधिको सम्पर्क कार्यालय स्थापना

काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना...
कांग्रेस उपसभापति निधिको सम्पर्क कार्यालय स्थापना

काठमाडौं, भदौ ११ : नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी दिने घोषणा गर्दै सम्पर्क कार्यालय स्थापना गरेका छन्।

उनले नेता कार्यकर्तासँग भेटघाटका लागि नयाँ बानेश्वरस्थित थापा गाउँमा सम्पर्क कार्यालयको आज शुभारम्भ गरेका हुन्। सो अवसरमा उनले आफू कसैलाई पराजित गर्न र ‘रिटाएर’ गर्न तथा असक्षम घोषण गर्न पार्टी सभापति पदमा उम्मेदवरीको घोषणा नगरेको बताए।

‘कांग्रेसलाई बलियो बनाउन र आगामी सबै तहका निर्वाचनमा पार्टीलाई बहुमत हासिल गर्र्ने मेरो चाहना हो,’ उनले भन, ‘यसैका लागिपार्टी सभापतिको उम्मेदवारी घोषणा गरेको हुँ।’

आफू पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रेरणा र योगदानले नै आजको अवस्थामा आइपुगेको उनको भनाइ थियो। संविधानसभाबाट कांग्रेसको बहुमत नहुँदा पनि आफूहरु सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी राजनीतिक व्यवस्थासहितको संविधान जारी गर्न सफल भएको उल्लेख गर्दै उनले कांग्रेसले यसको कार्यान्वयन गर्दै स्वामित्व लिने र संविधानलाई अलपत्र पर्न नदिने स्पष्ट पारे।

गत तीन वर्षमा संविधानका मर्ममा विश्वास नगर्ने राजनीतिक दल सत्तामा हुँदा मुुलुकमा सबै क्षेत्रमा विकृति देखिएको धारणा व्यक्त गर्दै उनले भने, ‘आगामी आमनिर्वाचनमा हामी यो विषय जनतामाझ उठाउँछौं।’ आगामी निर्वाचनमा कांग्रेस गुट उपगुटभन्दा माथि उठेर आओस् भन्ने जनताको चाहना रहेको उनको भनाइ थियो ।

पार्टीको क्रियाशील सदस्यतामा ३५ प्रतिशतभन्दा बढी युवा वर्गको प्रतिनिधित्व रहेको अवगत गराउँदै उनले आफू युवा वर्गका लागि पार्टीमा सहजकर्ताको भूमिका निर्वाह गर्न तयार रहेको बताए।

प्रकाशित मिति: १६:३० बजे, शुक्रबार, भदौ ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्