कामदारलाई भरिया बनाएर दुबई–काठमाडौं सुन तस्करी
‘उनीहरूले मलाई आठ–दश हजार नेपाली रुपैयाँ दिएर सुन बोकाउन खोजेका रहेछन्, तर मैले उनीहरूको प्रस्ताव अस्वीकार गरेँ। मैले अस्वीकार गरेपछि मभन्दा अघि लाइनमा रहेका दुई नेपालीसँग पनि उनीहरूले कुरा गरे र सहमति भएर उनीहरू सुन बोकेर काठमाडौं आए।’
काठमाडौं, भदाै ११ : भरतपुर नगरपालिका–१० चितवनका सन्देश थापा दुई वर्षपछि नेपाल फर्कंदै थिए। कोरोनाका कारण सामाजिक दूरी कायम गर्दै दुबईको डिएक्सबी विमानस्थलमा प्रवेश गर्दै थिए। दुई मानिस अगाडि आएर भन्न थाले, ‘दाई एउटा सानो सहयोग गर्नुपर्यो।’ दुई वर्षपछि मातृभूमि फर्कन पाउँदा हर्षित सन्देशले नेपालीले सहयोगको अनुरोध गरेपछि के गर्नुपर्यो भन्दै प्रतिप्रश्न गरे। उनीहरूले एउटा सानो सामान नेपाल लगिदिनुपर्यो भन्ने जवाफ दिए।
त्यसपछि सन्देश केहीबेर घोरिए। किनकि उनको सामान पहिला नै ओभरवेट थियो। त्यसपछि उनले भने, ‘मेरा लगेज पहिले नै ओभरवेट छ, के लानुपर्ने होला ?’
ती दुई केटाहरूले हतार हतार भने, ‘हैन हैन, त्यस्तो गह्रौँ सामान होइन।’
‘के लानुपर्ने हो त भन्नुस् न, मिलेसम्म म सहयोग गरौँला’ भन्ने जवाफ सन्देशले दिए। त्यसपछि ती दुईले दुईवटा रेडिमेड सुनको सिक्री र एउटा बट्टामा सुनको प्याक गरेको ढ्याक लैजान अनुरोध गरे। सुन भन्नेबित्तिकै सन्देश अलि अत्तालिए। किनकि उनले विमानस्थल हुँदै सुन तस्कर हुने गरेको समाचार सुनिरहेका थिए।
‘उनीहरूले मलाई आठ–दश हजार नेपाली रुपैयाँ दिएर सुन बोकाउन खोजेका रहेछन्, तर मैले उनीहरूको प्रस्ताव अस्वीकार गरेँ,’ बिहीबार काठमाडौं प्रेससँग उनले भने, ‘मैले अस्वीकार गरेपछि मभन्दा अघि लाइनमा रहेका दुई नेपालीसँग पनि उनीहरूले कुरा गरे र सहमति भएर उनीहरू सुन बोकेर काठमाडौं आए।’
यसरी दुबईबाट काठमाडौं हुने प्रायः उडानमार्फत वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइलाई गैरकानुनी रूपमा सुन बोकाएर पठाउने र नेपाल झरेलगत्तै विमानस्थलमा उनीहरूको मान्छे आएर सुन लिने गरेको भेटिएको छ।
दुबई विमानस्थलबाट त्यहाँ रहेका नेपाली एजेन्टले नेपाल आउन लागेकालाई जति सकिन्छ, सुन बोकाउने र उनीहरूको फोटो खिचेर नेपाल पठाउने गर्छन्। यता नेपालमा विमान ल्यान्ड भएलगत्तै यहाँका एजेन्ट विमानस्थल पुगेर सुन फिर्ता लिने गरेको भेटिएको छ। ‘दैनिक एउटा उडानमा ३०–४० जना एजेन्ट सुन नेपाल पठाउनका लागि दुबई विमानस्थलमा खटाइएको हुन्छ,’ दुबईमै व्यवसाय गर्दै आएका एक नेपाली व्यापारीले भने, ‘यो त मुलुककै बेइज्जत भयो भनेर हामीले यहाँको दूतावासमा उजुरी पनि गरेका छौँ।’
ती व्यापारीका अनुसार दुबईबाट नेपाल फर्कने सोझा कामदारबाट एउटालाई ५ देखि १० तोलासम्म सुन बोकाएर तस्करले दैनिक पाँच सय ग्रामदेखि एक किलोसम्म सुन नेपाल छिराउने गरेका छन्।
वैदेशिक रोजगारबाट फर्कने क्रममा काँचो सुन ल्याउन पाइँदैन। तर, ५० ग्रामसम्म सुनको गहना बनाएर ल्याउन पाइने भएकाले तस्करले यसको फाइदा उठाउन खोजिरहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बताउँछन्। उनका अनुसार दुबई, कतारबाट मात्र नभई अन्य देशबाट फर्कने व्यक्तिले समेत सुन ल्याउने गर्छन्। धेरै ल्याउँदा पक्राउ पर्ने डरले उताबाट सुन पठाउने व्यक्ति र यहाँ लिने दलालबीच सम्पर्क गरी एक व्यक्तिले ५० ग्रामसम्म सुनका गहना लिएर आएको भेटिन्छ। प्रवक्ता कुँवर भन्छन्, ‘सुन ल्याएर यता सामूहिक रूपमा ६–७ किलोसम्म सुन दलाललाई बुझाउँदै गर्दा प्रहरीले १५–२० जनासम्मलाई पक्राउ गरेको छ। यसका निगरानी हामीले बढाएका छौ।’
पक्राउ गरिएको सुन र बोकेर ल्याउने व्यक्तिलाई राजस्व अनुसन्धान विभागमा बुझाइने उनी बताउँछन्।
दुबई लगायत सारजा र आबुधाबीबाट आउने उडानमा पनि सोही विधिबाट तस्करले सुन नेपाल भित्र्याउने गरेका छन्। यसरी नेपालमा सुन ल्याउन दुबई र नेपालका ट्राभल्स एजेन्सी संलग्न रहेको त्रिभुवन विमानस्थलका एक प्रहरी अधिकारी बताउँछन्। ‘नेपाल फर्किएका कामदारलाई पाँच तोला, १० तोला सुनको सिक्री बनाएर पठाएका हुन्छन्, त्यसो गर्दा पनि दैनिक एक किलोसम्म सुन विभिन्न विमानमार्फत नेपाल भित्रिएको हुन्छ,’ ती अधिकारीले भने, ‘यस विषयमा हामी थप अनुसन्धान गर्दैछौँ र यसको जालो नै पत्ता लगाउँदै छौँ।’
दुबईमा ट्राभल्स एजेन्सी र सुन पसल खोलेका नेपालीले नै सुन नेपाल पठाउने धन्दा चलाउदै आएका छन्। तिनीहरूमध्ये अधिकांशको नेपालमा पनि ट्राभल्स एजेन्सी वा सुन पसल हुन्छ। दुवैतिर दैनिक सुन लिएर विमानस्थल जाने र सुन लिन विमानस्थल जाने कर्मचारी नै खटाएका हुन्छ।
घर फर्कने कामदारलाई थोरै मात्रामा सुन बोकाएर नेपाल पठाउन थालेपछि दुवई प्रहरीले पनि यसमा निगरानी बढाएको बताइएको छ। ‘दुवै विमानस्थलमा नेपाल फर्कन लागेका कामदारमाथि प्रहरीको निगरानी बढेको देखिन्छ,’ युएई गैरआवासीय नेपाली संघका एक पदाधिकारीले भने, ‘यो हाम्रो मुलुकका लागि नै लज्जास्पद काम भएको छ, हामीले पनि यस्तो कार्य रोक्न सम्बन्धित निकायमा जानकारी गराएका छौँ।’
कामदारमार्फत सुन तस्कर गराउने दुबई र नेपालतर्फका ती कम्पनीको नाम दुवै तर्फको प्रहरीमा पनि पुगेको उनको दाबी छ।
प्रहरी उच्च स्रोतका अनुसार दुवईस्थित जिबी होलिडेज्का नीलम श्रेष्ठ र ज्ञानेन्द्रबहादुर कार्की, सिमसार ट्राभल्र्सका तोया चौलागाईं, माउन्ट एभरेस्ट ट्राभल्सका दीपा पाण्डे, बराही ज्वेलर्सका नेत्र शर्मा, पिपुल्स ट्राभल्सका शोभा शर्मा र बाबु लोप्चा, याक एन्ड यती ज्वेलर्सका रोशन भुसाल र दुबईमा रहेका अधिकांश नेपालीका सुन पसल संलग्न रहेको भेटिएको छ।
प्रहरीको रिपोर्टका अनुसार आबुधाबीको सागर ज्वेलर्स, दुबईमा रहेकाे अन्नपूर्ण ज्वेलर्स, जेसिका ज्वेलर्स, हिमालयन ग्लोबल ज्वेलर्स, नेपाल गोल्ड ज्वेलर्स, पाथिभारा ज्वेलर्स, ड्रिम गोल्र्ड, शुभ यात्रा ट्राभल्स लगायतले सुन नेपाल पठाउन गैरकानुनी बाटो समातेको रिपोर्ट आएको प्रहरीको दाबी छ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
