डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
कावासोती, भदौ ११ : अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।जिल्ला...
कावासोती, भदौ ११ : अविरल वर्षाका कारण नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको २३ स्मृति नजिक बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधुसुदन सिंहका अनुसार बिहीबार राति करिब ९ बजे बाढीले डाइभर्सन बगाएको हो। जसले गर्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ।
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा बनाइएको डाइभर्सन बाढीले बगाएको हो। निरन्तर पानी परिरहेको र डाइभर्सनमा पूर्णरूपमा क्षति पुगेकाले तत्काल मर्मत गरी सञ्चालन गर्न कठिन रहेको सिंहले बताए।
यस्तै गैँडाकोट, थुम्सी, भेडाबारीलगायतका स्थानमा रहेका डाइभर्सनबाट समेत यातायात सञ्चालनमा कठिनाइ रहेको छ। बाढीका कारण अन्य डाइभर्सनबाट समेत ‘ओभरफ्लो’ भएकाले सवारी साधन सञ्चालनमा कठिनाइ रहेको उनले बताए।
पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो पनि गएको छ। दाउन्नेका ठाउँ–ठाउँमा पहिरो जादा राजमार्ग अवरुद्ध भएको छ। प्रहरीको टोली त्यसतर्फ प्रस्थान गरेको भए पनि पहिरो तत्काल हटाउने अवस्था नरहेको जनाइएको छ।
अविरल वर्षाका कारण नवलपुरका विभिन्न ठाउँ डुबानमा परेका छन्। वर्षाका कारण हुप्सेकोट–४ मा एउटा घरमा पहिराले क्षति पुर्याएको छ। तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
अविरल वर्षाका कारण कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु, विनयी त्रिवेणी, हुप्सेकोटका विभिन्न स्थान डुबानमा परेका छन्। बाढी, पहिरो र डुबानका कारण भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
