Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

कांग्रेस केन्द्रीय कार्यालयमा जिल्ला सभापतिको रिले अनशन जारी

काठमाडौं, भदौ १० : क्रियाशील सदस्यको सम्पूर्ण सूची तत्काल सार्वजनिक गनुपर्ने लगायतका माग राख्दै सुरु भएको कांग्रेस जिल्ला सभापतिको रिले अनशन पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ ।

कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, पार्टी विधानअनुसार क्रियाशील सदस्यतालाई अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग राखेर बुधबारदेखि सुरु भएको अनशन आज पनि जारी रहेको हो । पार्टीका संस्थापन इतरपक्षका जिल्ला सभापतिले सो माग गरेका हुन् । अनशनमा तनहुँका सभापति वैकुण्ठ न्यौपाने, सुर्खेतका कमलराज रेग्मी, डोल्पाका अगदकुमार बुढा, नेविसङ्घका पूर्वउपाध्यक्ष प्रमोदहरि गुरागाईं र नेविसङ्घका पूर्वमहामन्त्री मनोजमणि आचार्य बसेका हुन् ।

सोमबार राति काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुग्याई अन्तिम रुप दिइएको थियो । पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको थियो । काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन आगामी असोज ५ गते हुनेछ ।

यसैगरी काँग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म गर्ने गरी कार्यतालिका तय गरेको छ । (रासस) 

प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्