Kathmandu Press

काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं, साउन ३ : प्रतिनिधिसभाका सांसदहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

....
काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं, साउन ३ : प्रतिनिधिसभाका सांसदहरूले सेवाग्राहीको काममा ढिलाइ गर्ने कर्मचारीलाई कारबाही गर्ने कानूनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाका सांसदहरूले कारबाही हुने व्यवस्था गरिए सेवाग्राहीको काममा ढिलाइ नहुने बताए। उनीहरूले काममा ढिलाइ गर्ने कर्मचारीलाई कडा कारबाही हुने गरी कानूनी व्यवस्था गर्नु पर्ने बताए।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै सत्तारुढ नेकपाका सांसद झपट रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था गर्नु पर्ने बताए।

उनले भने, ‘समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउनेछ।’

त्यस्तै, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानूनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए। कर्मचारीहरूले आफ्नो जिम्मेवारी सहज ढंगले पूरा नगरे कडा कारबाहीको व्यवस्था गर्नुपर्ने माग गरे।

सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कारबाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको पनि स्मरण गराए।

समितिको बैठकमा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी प्रशासनलाई सुधार गरेर जनमुखी र परिणाममुखि बनाउन सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए। मन्त्री पण्डितले कर्मचारी प्रशासनलाई सेवा प्रवाहको काममा जवाफदेही बनाउने गरी कानुन निर्माणमा सहयोग गर्न पनि प्रतिनिधिसभाका सांसदहरुलाई आग्रह गरे।

‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिने क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर्मचारीहरुलाई जनताप्रति उत्तरदायी बनाउन सरकार सदा प्रतिवद्ध रहेको बताए। 

मन्त्री पण्डितले कार्यालय समयमा कार्यालय बाहिरको काम गर्ने कर्मचारीलाई पनि कडा कारबाही गरिने बताए। कर्मचारी प्रशासन सुधार नभएका कारण सरकार आफै अप्ठयारोमा पर्ने गरेको उनको भनाइ थियो।

 

प्रकाशित मिति: १२:५३ बजे, शुक्रबार, साउन ३, २०७६