छिट्टै नयाँ पार्टी घोषणा गर्दै हृदयेश त्रिपाठी
राजनीतिक दलसम्बन्धी अध्यादेश आएर दुईवटा पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको सन्दर्भमा पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि नयाँ दल गठनको अभ्यासमा जुटेका छन्।
काठमाडौं, भदौ १० : राजनीतिक दलसम्बन्धी अध्यादेश आएर दुईवटा पार्टी निर्वाचनमा आयोगमा दर्ता भइसकेको सन्दर्भमा पूर्वमन्त्री हृदयेश त्रिपाठी पनि नयाँ दल गठनको अभ्यासमा जुटेका छन् ।
काठमाडौं प्रेससँग कुरा गर्दै त्रिपाठीले आफ्नो नेतृत्वमा छिट्टै नयाँ पार्टी घोषणा गर्ने तयारी भइरहेको बताए । उनी अहिले ‘स्वतन्त्र राजनीतिक समूह’को संयोजकका रूपमा राजनीतिमा छन् ।
नयाँ पार्टी स्थापनाको प्रकृया अन्तिम चरणमा रहेको त्रिपाठी बताउँछन् । ‘हामी नयाँ पार्टी गठन गर्ने प्रक्रियामा छौँ,’ उनले भने ‘अहिले त्यसकै प्रक्रियाका लागि विभिन्न काममा जुटेका छौँ। पार्टी घोषणा गर्ने तयारी अन्तिम चरणमा छ ।’
आफ्नो पार्टी क्षेत्रीय नभई राष्ट्रियस्तरको हुने उनले जानकारी दिए । र, पार्टी गठन प्रक्रिया सकिएलगत्तै घोषणा गर्ने त्रिपाठीले बताए । राजनीतिक दलसम्बन्धी अध्यादेश आएर दुईवटा पार्टी स्थापना भइसके पनि त्यो एमाले र जसपा विभाजनको परिणति मात्र भएको उनको भनाइ छ । र, आफ्नो दल कुनै पार्टी विभाजनबाट गठन नहुने उनी बताउँछन् ।
नयाँ दल गठनमा आफू विगत अढाइ वर्षयता प्रकृयामा रहेको उनको भनाइ छ । ‘करिब अढाइ वर्ष अघिदेखि नै पार्टी गठन गर्ने योजना थियो,’ उनले भने, ‘पार्टीका दस्तावेजहरू निर्माणलगायत सबै काम सम्पन्न भइसकेको छ । यसको धरातलमा साथीहरूसँग सल्लाह गर्ने, समावेश हुन चाहेका व्यक्तिहरूको विचार र धारणा बुझ्ने, ठाउँ–ठाउँमा पुगेर समर्थक, शुभचिन्तकहरूसँग कुरा गर्नेलगायत काम भइरहेको छ।’
आफ्नो पार्टीमा नयाँ र पुरानो पुस्ताका राजनीतिकर्मी र कार्यकर्ताहरू रहने उनले जानकारी दिए । पार्टीको नामबारे भने कुनै निर्णय भइनसकेको उनको भनाइ छ । त्रिपाठीको दलको राजनीतिक कार्यदिशा पनि समाजवाद हुनेछ ।
गत आम निर्वाचनमा त्रिपाठीको समूहले एमालेको चिह्न सूर्य लिएर चुनावमा सहभागी भएको थियो । ८ वैशाख ०७४ मा मधेशकेन्द्रित ६ वटा दल मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) स्थापना भएपछि उनी त्यस एकता प्रक्रियाबाट बाहिरिँदै स्वतन्त्र राजनीतिक समूह बनाएर राजनीतिमा थिए ।
उनी लामो समय तत्कालीन नेपाल सद्भावना पार्टीमा आबद्ध भएर राजनीतिमा सक्रिय थिए । दोस्रो मधेश आन्दोलनपछि गठित तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का संस्थापक नेता पनि थिए, उनी । तमलोपा राजपामा विलय भएपछि भने स्वतन्त्र समूहका संयोजकका रूपमा सक्रिय छन् ।