Kathmandu Press

नयाँ दलमा गएकालाई हटाउने तर फर्किनेलाई ढोका खुलै राख्ने एमालेको निर्णय

काठमाडौं, भदौ १० : एमालेले पार्टीबाट विभाजित भई नयाँ दल खोल्ने माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टीबाट हटाउने र त्यसको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय...
नयाँ दलमा गएकालाई हटाउने तर फर्किनेलाई ढोका खुलै राख्ने एमालेको निर्णय

काठमाडौं, भदौ १० : एमालेले पार्टीबाट विभाजित भई नयाँ दल खोल्ने माधवकुमार नेपाललगायत नेताहरूलाई पार्टीबाट हटाउने र त्यसको जानकारी निर्वाचन आयोगलाई गराउने निर्णय गरेको छ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठान प्रतिष्ठानको भवनमा बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले त्यस्तो निर्णय गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए। तर, पार्टी त्यागेकोप्रति गल्ती महसुस गरेर सच्याउन चाहनेका लागि पार्टीको ढोका सधैं खुला राख्ने निर्णयसमेत भएको उनले बताए।

बैठकले एमालेबाट विभाजित भई नयाँ दल खोल्नेको सनाखत गर्दा निर्वाचन आयोगबाट विवादास्पद निर्णय भएको ठहर पनि बैठकले गरेको छ। पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएको ठहर बैठकले गरेको छ। आयोगद्वारा गरिएको सो निर्णयविरुद्ध कानुनी लडाइँ लड्ने निर्णय बैठकले गरेको प्रवक्ता ज्ञवालीले बताए।

ज्ञवालीले अध्यादेश संविधानविपरीत रहेको पनि स्पष्ट पारे। अध्यादेशमा स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखिएको प्रति पनि उनले विरोध जनाए। यसविरुद्ध पनि कानुनी लडाइँ लड्ने निर्णय बैठकले गरेको उनले बताए।

मंगलबारको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि बनाइएको कार्यदललाई पनि केन्द्रीय समिति बैठकले अनुमोदन गरेको छ। उक्त कार्यदलमा भीम रावल, ईश्वर पोखरेल, विष्णु पौडेल, धनश्याम भुसाल, लेखराज भट्ट र सुरेन्द्र पाण्डे रहेका छन्। 

बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयनमा लाने सन्दर्भमा सहजीकरणका लागि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिने निर्णय बैठकले गरेको उनले बताए।

बैठकले असोज ४, ५ र ६ गते विधान महाधिवेशन र मंसिर १०, ११ र १२ गते राष्ट्रिय महाधिवेशन गर्ने स्थायी कमिटीको बैठकको निर्णय अनुमोदन गरेको पनि ज्ञवालीले बताए। 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, भदौ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्