दार्चुला घटनाको छानबिन प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने गृहमन्त्रीको प्रतिबद्धता
काठमाडौं, भदौ १० : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताएका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन...
काठमाडौं, भदौ १० : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको जयसिंह धामी बेपत्ता भएको तुइन प्रकरणको छानबिन प्रतिवेदन यथाशीघ्र आउने बताएका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सदस्यहरुले उठाएको जिज्ञासाको जवाफ दिने क्रममा उनले घटनाको मन्त्रालयद्वारा गठित समितिले गम्भीर रुपमा छानबिन गरिरहेको बताए। उनले केही सदस्य काम विशेषले बाहिर जाँदा प्रतिवेदन तयार हुन ढिलाइ भएकोसमेत जानकारी दिए।
गृहमन्त्री खाँणले विसं २०५० देखि अहिलेसम्म उक्त जिल्लामा तुइनबाट खसेर २६ जनाको दुखद निधन भएको पनि जानकारी गराए। उनले महाकाली नदीमाथिको तुइन हटाएर पुल निर्माणका लागि पनि निर्देशन भइसकेको समितिलाई जानकारी गराए । ‘नागरिकको ज्यान जोगाउनु राज्यको दायित्व हो, नागरिकको जीवन रक्षाका लागि सरकार हिजो पनि गम्भीर थियो, आज पनि छ र भोलि पनि हुनेछ,’ उनले भने।
गृहमन्त्री खाँणले नेपाल प्रहरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको नजिक पुगिसकेको र अनुसन्धानले पूर्णता पाएपछि सार्वजनिक हुने जानकारी पनि गराए। उनले कालाबजारी, पुन मिति टाँसेर खाद्यपदार्थ बिक्री गर्ने अवस्थाको अन्त्य र साना मान्छे पक्राउ पर्ने र मूल मान्छे छुट्ने अवस्था नहोस् भन्नेमा सरकार गम्भीर रहेको बताए। उनले कुनै पनि खाद्य पदार्थ आवश्यकताभन्दा बढी आयात भएको छ भने त्यसमा सम्बन्धित अधिकारीसँग छलफल गर्ने समेत आश्वासन दिए।
गृहमन्त्री खाँणसहित गृहसचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री उपस्थित समितिको बैठकमा सांसदहरुले उक्त घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीलाई कारवाहीको दायरामा ल्याउने सन्दर्भमा ढिलाइ भएरहेकोतर्फ ध्यानाकर्षण गराएका थिए।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
