४-५ चैतको राष्ट्रिय भेला ओलीविरुद्ध विद्रोहको पहिलो विगुल : माधव नेपाल
नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोहको पहिलो विगुल ४-५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला भएको बताएका छन्। तर, केही व्यक्ति विद्रोहबाट चाँडै थाकेर ओलीतिरै लागेको उनले बताए।
काठमाडौं, भदौ १० : नवगठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोहको पहिलो विगुल ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला भएको बताएका छन् । तर, केही व्यक्ति विद्रोहबाट चाँडै थाकेर ओलीतिरै लागेको उनले बताए ।
अध्यक्ष नेपालले नवगठित पार्टीको धारणा सार्वजनिक गर्न निर्वाचन आयोगमा पार्टी दर्ता भएपछिको पहिलो पत्रकार सम्मेलन आयोजना गरेका हुन् । पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्यहरू तथा संघ र प्रदेशका सांसदलगायत नेता–कार्यकर्ताको पनि उपस्थिति छ ।
अध्यक्ष नेपालले केशरजंग रायमाझीले विगतमा दक्षिणपन्थी बाटो समातेको उल्लेख गरे । त्यतिबेला त्यो पार्टीबाट विद्रोह गर्दा राजनीति सकिने निष्कर्ष निकाल्नेहरू समाप्त भएको बताए । र, अहिले ओलीको दक्षिणपन्थविरुद्ध विद्रोह गर्दा समाप्त भइने डर कतिपयमा देखिएको बताए ।
रायमाझीविरुद्ध विद्रोह गरेर कोअर्डिनेसन केन्द्र, नेकपा (माले) हुँदै एमाले गठन गरिएको उल्लेख गरे । झलनाथ खनाल, वेदुराम भुसाल, मुकुन्द न्यौपानेलगायत नेताको यसमा ठूलो योगदान रहेको बताए ।
केपी ओलीको दक्षिणपन्थी धारविरुद्ध विद्रोह गरेर नयाँ पार्टी स्थापना गरिएको उनले बताए । अलग पार्टी स्थापना गर्नु आफूहरूको बाध्यता भएको उनले बताए ।
ओलीले सबैखाले माक्र्सवादी मूल्य र मान्यतालाई तिलाञ्जली दिइसकेपछि र व्यक्तिवादी अहंकारको घोडामा सवार हुँदै पार्टीलाई निजी कम्पनी बनाएको बताए । क्रान्तिकारी योद्धाहरूलाई ओलीले पार्टीबाट निष्कासन गरेको बताए ।
विश्वको कम्युनिस्ट इतिहासमा यस्तो हुँदै आएको उनले उल्लेख गरे । अवसरवादीहरू हावी हुँदा कम्युनिस्ट पार्टीमा विद्रोह गर्नुपर्ने परिस्थिति आउने बताए ।
‘यो कम्युनिस्ट पार्टी पुनर्गठनको अभियान हो । पूर्वएमालेमा पीडित भएका क्रान्तिकारी जनसमुदाय र जिल्ला र प्रदेशका कार्यकर्ताहरू ठूलो पंक्तिले केपी ओलीको समूहबाट विद्रोह गरेका छन् । र, नेकपा (एकीकृत समाजवादी)मा समाहित भएको घोषणा गरिरहेका छन्,’ नेपालले भने ।
दक्षिणपन्थी भासमा पसिसकेको ओली समूहबाट विद्रोह गर्न उनले आह्वान गरे । केपी ओलीले प्रतिगामी कदम चाल्न कीर्तिमान कायम गरेको उनले उल्लेख गरे ।
ओली एमालेको नवौँ महाधिवेशनबाट झिनो मतले मात्र अध्यक्षमा विजयी भएको नेपालले बताए । र, विजयी भएपछि व्यक्तिप्रतिको समर्पण कार्यकर्ताहरूसँग खोजेको उल्लेख गरे । उनको वरिपरि प्रशंसाको पुल बाँध्दै नाच्नेहरूलाई मात्र ओलीले प्राथमिकता दिएको बताए ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
