जनसंख्यासँगै पर्याप्त खाना नपाउनेको संख्या पनि वृद्धि
विश्वमा ८२ करोडभन्दा धेरै मानिस भोकमरीबाट पीडित भएको संयुक्त राष्ट्र संघको प्रतिवेदनले जनाएको छ । योसँगै सन् २०३० सम्म विश्वमा भोकमरी शुन्यमा पुर्याउने लक्ष्य विश....
विश्वमा ८२ करोडभन्दा धेरै मानिस भोकमरीबाट पीडित भएको संयुक्त राष्ट्र संघको प्रतिवेदनले जनाएको छ । योसँगै सन् २०३० सम्म विश्वमा भोकमरी शुन्यमा पुर्याउने लक्ष्य विशाल चुनौति बनेको छ ।
जनसंख्या वृद्धिसँगै पर्याप्त खाना नपाउने जनसंख्या लगातार तेस्रो वर्ष पनि बढेको छ। लाखौं बालबालिका कुपोषणको शिकार भएका छन्। कुपोषणका कारण शारीरिक विकास नहुने क्रम आधा घटाउने र कम तौलका बालबालिकाको जन्मदर न्यूनिकरण गर्ने कार्य अत्यन्तै सुस्त भएको संयुक्त राष्ट्र संघले जनाएको छ। यसले दिगो विकासका लक्ष्य पूरा गर्ने सम्भावना खतरामा परेको छ।
संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि कार्यक्रम,अन्तर्राष्ट्रिय कृषि विकास कोष, युनिसेफ, विश्व खाद्य कार्यक्रम र विश्व स्वास्थ्य संगठनले उक्त प्रतिवेदन तयार गरेको हो।
एकातिर भोकमरी व्यापक छ भने अर्कोतिर मोटोपन पनि सबै क्षेत्रमा बढ्दै गएको छ। मोटोपनलाई पनि कुपोषणसँग जोडिन्छ।
प्रतिवेदन अनुसार विद्यालय जाने उमेर समूहका हाल ३३ करोड ८० लाख बालबालिका र किशोरकिशोरीको शारीरिक तौल अत्यधिक छ। त्यसैगरी ६७ करोड २० लाख वयस्क मोटोपनबाट पीडित छन्। विश्वभर मोटोपनबाट पीडित करिब तीन चौथाइ बालबालिका एसिया र अफ्रिकामा छन्। उमेर अनुसारको उचाइँ विकास नभएका विश्वका १० मध्ये नौ र उचाइँ अनुसार शरीरको तौल कम भएका विश्वका १० मध्ये नौ बालबालिका पनि दुवै महादेशमा छन्। अस्वस्थकर आहार यसको मुख्य कारण हो।
प्रतिवेदन अनुसार सन् २०१५ मा विश्वमा जन्मिएका सातमध्ये एक शिशु कम तौलका थिए। धेरैजसो किशोरी आमाका सन्तान थिए। यसले उनीहरूको विकास जोखिममा छ। विश्वको जनसंख्या तिव्र रूपमा बढिरहेको छ। अधिकांश मानिस शहरी क्षेत्रमा बस्छन्।
प्रविधि‘आश्चर्यजनक रूपमा विकास भइरहेको छ भने अर्थतन्त्रको अन्तरसम्बन्ध बढ्दै गएको र विश्वव्यापीकरण पनि उत्तिकै भइरहेको’ संयुक्त राष्ट्र संघीय निकायका प्रमुखहरूले प्रतिवेदनको प्राक्कथनमा उल्लेख गरेका छन्। तर धेरै देशमा यो नयाँ अर्थतन्त्रको दिगो वृद्धि देखिएको छैन। विश्व अर्थतन्त्र अनुमान गरे अनुसार वृद्धि भएको छैन।
जलवायु परिवर्तनले कृषि प्रभावित छ। कृषकको संख्या घटेको छ। यसले विश्वभर हुने खानाको उत्पादन, वितरण र खपत साथै नयाँ खाद्य सुरक्षा, पोषण र स्वास्थ्य सम्बन्धी चुनौतिमा उल्लेखनीय परिवर्तन भएको छ। आर्थिक वृद्धि पछि परेको देशमा भोकमरी बढ्दै गएको छ। त्यहाँ आयको असमानता पनि छ।
‘यी समस्या समाधान गर्न हामीले आँटिला काम गर्नुपर्छ’ संयुक्त राष्ट्र संघका नेतृत्वले भने। ‘गरिबीको जोखिम घटाउन हामीले मानिस र समुदायलाई केन्द्रमा राखेर गरिबमुखी र समावेशी संरचनागत रूपान्तरण प्रवर्द्धन गर्नुपर्छ। भोकमरी, खाद्य असुरक्षा र सबै प्रकारका कुपोषण अन्त्य गर्ने बाटोतर्फ अघि बढ्नुपर्छ।’