प्रदेश १ मा एमाले संसदीय दलको बैठक बस्दै, आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी

विराटनगर, भदौ १० : नेकपा (एमाले) प्रदेश १ संसदीय दलको बैठक आज बस्न लागेको छ। आजको बैठकले मुख्यमन्त्री फेरबदल गर्ने तयारी रहेको जनाइएको छ।
आन्तरिक मामिलामन्त्री हिक्मत कार्कीले आज बिहान ९ बजे संसदीय दलको बैठक बस्न लागेको बताए। उनले समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको बताए।
तर, एमाले स्रोतका अनुसार मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट राजीनामा गराउने तयारी भइरहेको जनाएको छ। उनलाई राजीनामा गराएर माधवकुमार नेपालको साथ छोडेका भीम आचार्यलाई मुख्यमन्त्री बनाउने एमालेको तयारी छ।
यसअघि बागमती प्रदेशमा पनि डोरमणि पौडेललाई राजीनामा गराएर अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो। उनले नेपालको साथ छोडेकी थिइन्।
अहिले आचार्यले पनि नेपालको साथ छोडेका छन्। उनी मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका थिए।
९३ सदस्यीय प्रदेश सभामा अहिले ९२ सदस्य छन्। एमाले सांसद गुलेफुन खातुन फौजदारी मुद्दामा दोषी देखिएपछि फरार छिन्। बहुमतका लागि ४७ सांसद आवश्यक पर्छन्।
कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १–१ सांसद छन्। एमालेबाट आठ जना सांसद आउँदा पनि विपक्षी गठबन्धनको बहुमत पुग्छ।








![ऋषि पञ्चमीमा ऋषेश्वर मन्दिरमा भीड [तस्बिरहरू ]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_ae39b253-1789455322.jpg)
![इन्द्रजात्राका लागि काठमाडौं ल्याएइँदै लिङ्गो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1789454688.jpg)

