लोकसेवा आयोगले भन्यो–कसैले चेतावनी दिँदैमा परीक्षा रोकिँदैन
काठमाडौं साउन २ : लोकसेवा आयोगले शुक्रबार हुने परीक्षा नरोकिने स्पष्ट पारेको छ।
'आरक्षण बचाऔं आन्दोलन'ले परीक्षा हुन नदिने चेतावनी द....
काठमाडौं साउन २ : लोकसेवा आयोगले शुक्रबार हुने परीक्षा नरोकिने स्पष्ट पारेको छ।
'आरक्षण बचाऔं आन्दोलन'ले परीक्षा हुन नदिने चेतावनी दिइरहेका बेला लोकसेवाले शुक्रबार (भोलि) का लागि तोकिएको परीक्षा नरोकिने स्पष्ट पारेको हो। आरक्षण बचाऔं आन्दोलन समूह समानुपातिक,समावेशी सिद्धान्त विपरित खुलाइएको लोक सेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आन्दोलित छ।
लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले कसैको चेतावनीकै कारण परीक्षा नरोकिने बताए। ‘परीक्षा निर्धारित मितिमै हुन्छ, परीक्षाको लागि सम्पूर्ण आयोगका कर्मचारीहरु परीक्षा केन्द्रमा पुगिसकेका सकेका छन,’ उनले भने।
लोक सेवा आयोगले स्थानीय तहका लागि खुलाएको विज्ञापन समानुपातिक,समावेशी सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चमा रिट परेको थियो। तर, सर्वोच्चले कर्मचारी भर्नाको काम नरोक्न आदेश गरेपछि लोकसेवाले कर्मचारी भर्नाको प्रक्रिया अघि बढाएको हो।
अदालतले कर्मचारी भर्ना नरोक्न आदेश दिएपनि आरक्षण बचाऔं आन्दोलन लोक सेवाको विज्ञापन रोक्न माग गर्दै आन्दोलित छ। संविधानको मर्म र भावना विपरीत समावेशी सिद्धान्त अबलम्बन नगरी विज्ञापन खुलाएको भन्दै आदिवासी जनजाति महासंघले आयोगले लिन लागेको परीक्षा विथोल्ने महासंघका अध्यक्ष जगत बरामले बताए।
‘विज्ञापन नरोकेसम्म आन्दोलन रोकिन्न। हामी भोलि हुने परीक्षामा अवरोध गर्छौं,’ उनले चेतावनी दिँदै भने,‘सरकारले जवरजस्ती गर्न खोजेमा मुठभेडको अवस्था पनि आउन सक्छ। त्यसको जिम्मेवारी हामीले लिँदैनौं।’
लोकसेवा आयोगले गत असार १७ गते स्थानीय तहका लागि ९ हजार १ सय ६१ कर्मचारीका लागि विज्ञापन खोलेको थियो।






