Kathmandu Press

सरकारका प्रवक्ताले भने- छक्कापञ्जा गर्ने गरी विप्लवसँग वार्ता हुन सक्दैन

काठमाडौं, साउन २ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग शर्तसहित वार्ता हुन नसक्ने स्पष्ट पारेको छ। 

....
सरकारका प्रवक्ताले भने- छक्कापञ्जा गर्ने गरी विप्लवसँग वार्ता हुन सक्दैन

काठमाडौं, साउन २ : सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग शर्तसहित वार्ता हुन नसक्ने स्पष्ट पारेको छ। 

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हिंसामा रहेको विप्लव समूहसँग सरकार वार्ताका लागि सधै तयार रहेपनि शर्तसहित वार्ता गर्न नसकिने बताएका हुन्। 

‘हामीले धेरै पटक वार्ताका लागि बोलाइसकेका छौं। वार्ता गर्न हामी तयार पनि छौं,’प्रवक्ता बाँस्कोटाले भने,‘तर, दाउपेच र शक्ति सञ्चयका लागि विप्लवसँग वार्ता हुन सक्दैन।’ 

विप्लव समूहसँग वार्ता गर्नुअघि अघि पक्राउ परेका मानिसहरु छोड्नु पर्ने, मुद्दा फिर्ता लिनु पर्ने लगायतका काम सरकारले गर्न नसक्ने मन्त्री बाँस्कोटाले बताए। ‘वार्ता शर्तसहित होइन एजेण्डामा हुन्छ,’ उनले भने,‘के का लागि, किन र एजेण्डासहित हुन्छ।  हामीले बोलाइरहेका छौं उहाँहरु शर्त अघि सारेर आउनु भएन। अगुल्टोले हानेको....के देखेर तर्सिन्छ भन्ने थाहा पाउनु पर्‍यो नि! ’

उनले मुलुकले २०५२ देखि २०६२ सम्म भोगेको हिंसा भुल्न नहुने पनि बताए। ‘हिजो पनि हामीले भोगेकै कुरा हो। दाङको हापुरेदेखि हापुरेसम्म.. वार्ता र छलफल गर्‍यो अनि ड्वाङ्ग पट्काइहाल्यो। वार्ता छक्कापञ्चा गर्ने गरी हुँदैन,’उनले भने,‘वार्ताको ठाउँ दिन्छ, वार्ता के का लागि गर्ने? कसरी ल्याण्डिङ गर्ने भन्ने प्रष्ट हुनुपर्छ।’ 

मन्त्री बाँस्कोटाले शान्तिपूर्ण राजनीतिमा फर्किने सुनिश्चितता हुँदा सरकार सदैव स्वागत गर्न तयार रहेको बताए। उनले भने,‘अनौपचारिक वार्ता त भइरहन्छ। तर, वार्ता गर्ने निष्कर्षमा नपुग्ने र प्रचारको लाभ लिने वा दुनियाँलाई भुलभुलैयामा पार्ने गरी हुँदैन।’ 

उनले सिके राउतको झै शान्तिपूर्ण राजनीतिमा पार्टी दर्ता गरेर आउने गरी विप्लव तयार हुनु पर्ने बताए। 


 

प्रकाशित मिति: १६:४४ बजे, बिहीबार, साउन २, २०७६