म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरेको आरोपमा पक्राउ

काठमाडौं, भदौ ९ : म्याद गुज्रिएका खाद्यवस्तु रिलेभलिङ गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ बालाजुस्थित अगद नेपाल भेन्चर प्रालिका सुपरभाइजर काठमाडौं चन्द्रागिरी नगरपालिका-६ बस्ने ३१ वर्षीय सुवास खड्का रहेको प्रहरीले जनाएको छ।
विभिन्न म्याद गुज्रिएका खाद्य सामग्रीहरु नयाँ लेभलिङ गरी आफूूखुसी महँगो मूल्यसमेत राखी बजारमा बिक्री गरी आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने कार्य भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवन र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको संयुक्त टोली खटिएको थियो।
टोलीले उक्त प्रालि तलासी गर्दा ठूलो परिमाणमा म्याद गुज्रिएका विभिन्न कम्पनीबाट उत्पादित खाद्य सामग्री बिस्कुटहरु, पास्ता, कर्नफ्लेक्स, सेवाईलगायतका म्याद गुज्रिएका सामानहरुलाई समेत मेसिनद्धारा नयाँ उत्पादन मिति तथा मूल्य रिलेभलिङ गरि थोक तथा खुद्राका लागि बिक्री गरिरहेको फेला पारी खड्कालाई पक्राउ गरेको हो।
उत्पादन मिति र मूल्य रिलेभलिङ गर्ने डिजिटल मेसिन एक थान र लेभल मेट्न प्रयोग हुने केमिकल एक थानसमेत प्रहरीले बरामद गरेको छ।
खड्कालाई आवश्यक कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल काठमाडौं पठाइएको तथा हाल फरार सोही प्रालिका सञ्चालक काठमाडौं नयाँ बानेश्वर बस्ने मोरङ घर भएका प्रभात देवको खोजी गरिरहेको महानगरीय अपराध महाशाखा मीनभवनले जनाएको छ।





-1789304248.jpg)





