चन्द्रागिरि छाड्यो नेपाल समूहले, निर्वाचन आयोगतर्फ नेता-कार्यकर्ता
नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताले चन्द्रागिरि रिसोर्ट छाडेका छन् । उनीहरू गत सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा भेला भएका थिए ।
काठमाडौं, भदौ ९ : नवगठित नेकपा (एकीकृत समाजवादी)का नेता–कार्यकर्ताले चन्द्रागिरि रिसोर्ट छाडेका छन् । उनीहरू गत सोमबारदेखि चन्द्रागिरि रिसोर्टमा भेला भएका थिए ।
पार्टी केन्द्रीय सदस्य जगन्नाथ खतिवडाका अनुसार रिसोर्ट छाडेर सबैजना आयोगतर्फ लागेका छन् । बुधबार ११ बजेदेखि नवगठित पार्टीका केन्द्रीय सदस्यहरूको सनाखतका लागि आयोगले बोलाएको छ ।
‘चन्द्रागिरि छाडियो अब बहादुर भवनतिर जाने तयारी हुँदैछ,’ खतिवडाले काठमाडौं प्रेससँग भने ।
दल दर्ताका लागि न्यूनतम संख्या पुग्ने कुरामा कुनै शंका नरहेको खतिवडाले जानकारी दिए । ‘थप साथीहरू एमाले छाडेर आउँछु भनेर लागिपर्नुभएको छ,’ उनले भने, ‘आयोगमा पुगेर कतिजनाले हस्ताक्षर गर्नुहुन्छ भन्ने यकिन भइसकेको छैन ।’
केन्द्रीय सदस्यहरू ५५ जनाभन्दा माथिको संख्यामा नवगठित पार्टीमा आएको र सबैले दिएको विश्वासअनुसार भयो भने ६५ जनाभन्दा बढी केन्द्रीय सदस्य आउने सम्भावना रहेको खतिवडाको दाबी छ । चन्द्रागिरिमा मंगलबार रातिसम्म आएका केन्द्रीय सदस्यहरू ६५ जनाभन्दा बढी थिए ।
सांसदहरू प्रतिनिधिसभाका पहिलेका २२ र थपिएकासमेत गरी २७ जना पुग्न सक्ने उनको भनाइ छ । राष्ट्रियसभाका सांसदहरू सहित गर्दा करिब ४० जना सांसदले साथ दिएको उनको दाबी छ ।



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
