मादीको कटानबाट ६६३ घर जोखिममा
गत आइतबारदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन्।
तनहुँ, भदौ ९ : गत आइतबारदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका–५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन्।
नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन्। मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको टोल विकास संस्थाका अध्यक्ष कृष्णकुमार श्रेष्ठले बताए।
नदी बस्तीतर्फ सोझिएपछि उच्च जोखिममा रहेका बस्तीका मानिस रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
अध्यक्ष श्रेष्ठका अनुसार वृद्धाश्रम, भजनकीर्तन समितिको भवन, गुरुकुल आश्रम, पाटन खेलकुद मैदान, पाटन परासर पार्क, भूपू भवन, सामुदायिक भवन, परासर माविलगायतमा क्षति पुग्ने देखिएको छ।
नगर प्रमुख बैकुण्ठ न्यौपानेले बाढीले कटान गरेका क्षेत्रमा रोकथामका लागि पहल गर्ने आश्वासन दिनुभएको टोल विकास संस्थाका सचिव तेजबहादुर नेपालीले बताए।
तल्लो पाटनमा मगर, गिरी बस्ती, विद्यालय क्षेत्रमा सबै मिश्रित जातजाति र झोलुंगे पुलआसपास क्षेत्रमा नेवार समुदायका मानिसको बसोबास छ । रासस



-1789304248.jpg)




-1789304248.jpg)

-1716033857.jpg)
