दार्जिलिङको रेल सम्पदा सूचीबाट हट्ने खतरा, युनेस्कोले टोली पठाउने
भारतको दार्जिलिङ हिमालयन रेलवे एक सय चालिस वर्ष पुरानो विश्व सम्पदा स्थल हो। निरन्तरको बेवास्ता र संरक्षण नपुगेकाले दार्जिलिङ हिमालयन रेलवे सम्पदा सूचीमा राख्न योग्य भ....
भारतको दार्जिलिङ हिमालयन रेलवे एक सय चालिस वर्ष पुरानो विश्व सम्पदा स्थल हो। निरन्तरको बेवास्ता र संरक्षण नपुगेकाले दार्जिलिङ हिमालयन रेलवे सम्पदा सूचीमा राख्न योग्य भए–नभएको पत्ता लगाउन युनेस्कोले रेलवे प्रणालीको मूल्याङ्कन गर्ने भएको छ।
विश्व सम्पदा स्थलको संरक्षणबारे भारतीय रेलवेले दिएको जानकारीबाट असन्तुष्ट युनेस्कोले रियाक्टिभ मनिटरिङ मिसन पठाउने भएको छ। मिसन टोलीमा युनेस्को विश्व सम्पदा समिति र इन्टरनेसनल काउन्सिल अन मोन्युमेन्ट्स एन्ड साइट्स (आइसिओएसएस) का विशेषज्ञ सहभागी हुनेछन्।
उनीहरूले भारतीय रेलवेसँग संयुक्त रूपमा दार्जिलिङ हिमालयन रेलवेको अवस्था मूल्याङ्कन गर्नेछन्। अजरबैजानमा गत साता भएको युनेस्कोको वार्षिक बैठकको माइन्युट अनुसार टोलीले दार्जिलिङ हिमालयन रेलवेमा गर्नुपर्ने कामको प्राथमिकता र अवस्था तथा रेलवेको मूल्य र महत्वमा थप क्षति पुग्नबाट रोकथाम गर्नलाई आवश्यक सुझाव पनि पेश गर्नेछ।
सम्पदा सूचीमा राखिएपछि व्यवस्थापन राम्रो नभएकाले रेलवेको गुणस्तर खस्कदै गएको र आइसिओएसएसको सुझाव कार्यान्वयन गर्न नसकेको विषयमा विश्व सम्पदा समितिले बैठकमा छलफल भएको थियो। युनेस्कोको मार्गनिर्देशन अनुसार रियाक्टिभ मनिटरिङ टोलीलाई खतरामा परेका विश्व सम्पदा स्थलमा पठाइन्छ। त्यस्ता स्थल विश्व सम्पदाको प्रतिष्ठित सूचीबाट हट्ने सम्भावना पनि हुन्छ।
विश्व सम्पदा समितिले जनाए अनुसार अनुरोधका बावजुत भारतीय रेलवेले सन् २०१७ र २०१९ बीच अनुगमन र साधारण मर्मत सम्भारको अभाव तथा अतिक्रमण र ट्रयाकमा फोहोर फाल्ने कार्यको कारण खुलाउन सकेन। यसलाई विश्व सम्पदा संरक्षण मापदण्डको उल्लंघन मानिन्छ।
भारतीय रेलवेले दार्जिलिङ हिमालयन रेलवेको सीमा वा ‘बफर जोन’ पनि तोकेको छैन। दार्जिलिङ हिमालयन रेलवेको व्यवस्थापन गर्ने नर्थ इष्ट फ्रन्टियर रेलवेका महाप्रबन्धक सञ्जिव रोयले युनेस्कोको सुझाव कार्यान्वयन गरिएको र संरक्षण कार्यलाई उच्च प्राथमिकता दिएको बताए।
‘हामी युनेस्कोसँग निरन्तर सम्पर्कमा छौं। उनीहरूसँग नियमित बैठक पनि बसिरहेका छौं। रेलमार्ग भएर सडक पनि बनेको छ। एकातिर घरहरू छन् र अर्काेतिर सडक छ। त्यसैले रेलमार्गमा मानिसको चहलपहल पनि बढी हुन्छ। कहिलेकाँही उनीहरू त्यहाँ गाडी पनि पार्क गर्छन्। त्यसले रेल रोक्नुपर्ने हुन्छ,’ उनले भने,‘हामी रेलमार्गको मर्मत पनि गरिरहेका छौं। ट्रयाक नवीकरण गरिरहेका छौं र सर्भिस स्टिम लोकोमोटिभ चलाइरहेका छौं। त्यसैले यसको सम्पदा मूल्यमा कुनै खतरा छैन।’
केही वर्षदेखि भारतीय रेलवे र युनेस्कोले संयुक्त रूपमा ‘कम्प्रिहेन्सिभ कन्जर्भेसन एन्ड म्यानेजमेन्ट प्लान फर द माउन्टेन रेलवेज अफ इन्डिया’ विकास गरिरहेका छन्। युनेस्कोले भारतीय रेलवेलाई उक्त योजना कार्यान्वयन गर्न अनुरोध गरेको छ।
पोहोर जुलाईमा यी मुद्दाबारे चेतावनी दिदैं रेलवे बोर्डले नर्थइष्ट फ्रन्टियर रेलवेलाई पत्र पठाएको थियो। ‘नियम पालन नगरेर कुनै सम्पदा स्थलको स्तर खस्किए लज्जास्पद र आलोचनाको विषय हुनेछ,’ पत्रमा भनिएको छ। विश्व सम्पदा समितिको बैठकका कारबाहीले त्यसयता कुनै प्रगति नभएको देखाउँछ।
संयुक्त अधिराज्यको दार्जिलिङ हिमालयन रेलवे सोसाइटी र भारतको रेल इन्थुजियास्ट सोसाइटीजस्ता रेलवे सम्पदा संरक्षण निकायले दार्जिलिङ हिमालयन रेलवे बचाउन रेलवे बोर्ड गुहार्ने योजना बनाइरहेका छन्। ‘रेल इन्थुजियास्ट सोसाइटीले चाँडै नै रेलवे बोर्डलाई गम्भीर चिन्ता व्यक्त गर्ने योजना बनाएको छ,’ सोसाइटीका संयोजक सञ्जय मुखर्जीले भने।
‘विश्वका धेरै स्थानमा विकासको उस्तै मोडेल प्रस्तुत गर्दै सामाजिक र आर्थिक विकासमा नवीन यातायात प्रणालीको प्रभावको विलक्षण उदाहरण’ बताउँदै युनेस्कोले दुई दशकअघि दार्जिलिङ हिमालयन रेलवेलाई विश्व सम्पदा स्मारकको सूचीमा राखेको थियो।