राज्य र नागरिकको सुरक्षामा कुनै पनि ‘कम्प्रोमाइज’ नगरौं : गृहमन्त्री

काठमाडौं, भदौं ७ : गृहमन्त्री बालकृष्ण खाणले नागरिकको अधिकार र जीवन रक्षा सरकारको् पहिलो प्राथमिकता रहेको बताएका छन् ।
मन्त्रालयले सोमबार आयोजना गरेको ‘गृह प्रशासन सुदृढीकरण सम्बन्धमा पूर्वपदाधिकारीहरूसँग अन्तरक्रिया कार्यक्रम’मा गृहमन्त्री खाणले सरकार नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन गम्भीर रहेको बताएका हुन् । गृहमन्त्री खाणले भने, ‘नागरिकको सुरक्षामा सरकार भम्भीर छ । सरकारको पहिलो प्राथमिकता नागरिकको सुरक्षा हो ।’उनले राज्य र नागरिकको सुरक्षामा कुनै पनि ‘कम्प्रोमाइज’ नगर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका उच्च पदस्थ अधिकारीहरूलाई आग्रह समेत गरे ।
उनले नेपाली भूमिमा नेपाल राष्ट र नेपाली नागरिक विरोधी तथा कुनै पनि मित्रराष्ट विरोधी गतिविधि हुन नदिन सरकार दृढ रहेको रहेको बताए । उनले सामूहिक जवाफदेहिता र सामूहिक जिम्मेवारीको अवधारणामा काम गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन समेत दिए । गृहमन्त्री खाणले कोभिड–१९ महामारीबाट नागरिकलाई बचाउन आफ्नो जीवनको प्रवाह नगरी जोखिम मोलेर काममा खटिएका सुरक्षाकर्मी र कर्मचारीहरूलाई प्रोत्साहन गर्न आफू तयार रहेको बताए ।
उनले महामारीबाट आफू कसरी बच्ने भन्ने ध्यान नदिई नागरिकलाई कसरी बचाउने भनेर अग्रपंतीमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन गर्न बजेट बढाउन पहल गर्न पूर्वप्रशासक, गृह प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई आग्रह गरे । आफूले त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मासँग कुरा गर्ने उनको भनाइ थियो ।
‘तपाईंहरूले पहल गर्नुस् म सम्माननीय प्रधानमन्त्री र अर्थमन्त्रीज्यूसँग कुरा गर्छु । मलाई विश्वास छ, प्रधानमन्त्रीज्यू र अर्थमन्त्रीज्यू पूर्वगृहमन्त्री भएकाले यो विषयलाई गम्भीर रूपमा लिएर कार्यान्वयन गर्न तदारुकता देखाउनुहुनेछ ।’ उनले आफू कमाण्ड कन्ट्रोलमा विश्वास गर्ने व्यक्ति भएकाले त्यसै अनुरुप काम गर्ने बताए ।
कार्यक्रममा पूर्वगृह सचिव समेत रहेका लोकसेवा आयोगका निवर्तमा अध्यक्ष उमेश मैनालीले ‘सुरक्षाका नविन आयाम र गृह प्रशासनको चुनौति’ विषयमा र नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले ‘गृह प्रशासन अन्तरगत प्रहरी प्रशासन लगायत सुरक्षा क्षेत्रको सुदृढीकरण’ सम्बन्धी कार्यपत्र पेस गरेका थिए ।




-1789304248.jpg)






-1789304248.jpg)