Kathmandu Press

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार

अमेरिकाद्वारा अफगानिस्तानबाट एक दिनमा १७ सयको उद्धार

काबुल, भदौ ७ : अफगानिस्तानबाट अमेरिकाले आइतबार एक दिनमा १७ सय मानिसलाई उद्धार गरेको छ। 

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार ३९ वटा विमानबाट कूल ३४ हजार जनालाई उद्धार गरिएकामा १७ सय अमेरिकी रहेका छन्। 

उद्धार गर्नुपर्नेको सङ्ख्या धेरै रहेकाले उद्धार कार्यलाई छिटो सम्पन्न गर्नका लागि खटिने विमानको सङ्ख्या पनि बढाउन लागिएको अधिकारीहरुले जनाएका छन्।

उनीहरुका अनुसार अमेरिकाले अफगानिस्तानबाट उद्धारका लागि गैरसैनिक वायुसेवाका विमानहरूको पनि प्रयोग गर्न लागेको छ।

अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा रहेका हजारौँ मानिसहरु अफगानिस्तानबाट भाग्न खोजिरहेका छन्। अफगानिस्तानबाट बाहिरिनका लागि हजारौँ मानिस काबुल विमानस्थलमा जम्मा भएकाले उनीहरुलाई तत्काल उद्धार गर्नुपर्ने खाँचो देखिएको छ।

अफगानिस्तान छोड्न काबुल विमानस्थलमा भएको भागदौडका क्रममा कम्तीमा २० जनाको मृत्यु भएको जनाइएको छ। सुरुका केही दिन तनावपूर्ण र कारुणिक भए पनि अहिले भने सामान्य हुँदै गएको अधिकारीहरुले जनाएका छन्। 

विमानमै बच्चाको जन्म

अफगानिस्तानबाट उद्धार गरिएकी एक महिलाले विमानमै बच्चा जन्माएको विषय पनि अहिले चर्चाको विषय बनेको छ। 

उद्धार गरी जर्मनीतर्फ गइरहेको विमानमा एक महिलाले गत शनिबार छोरी जन्माएको जनाइएको छ। अमेरिकी रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमार्फत आमा र शिशुको तस्वीर समेत सार्वजनिक गर्दै उद्धारकै क्रममा महिलाले बच्चा जन्माउँदा खुसी लागेको उल्लेख गरेको छ।  

युएस एयर फोर्स सी–१७ विमानमा बच्चा जन्मेको र आमा र शिशु दुवै जनालाई विमानमै स्वास्थ्य सेवासमेत उपलब्ध गराइएको रक्षा मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १६:१९ बजे, सोमबार, भदौ ७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्