Kathmandu Press

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिनपछिकै कम

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिनपछिकै कम

नयाँ दिल्ली, भदौ ७ : भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या १६० दिनपछिकै सबैभन्दा कम भएको छ।  

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित थपिएका छन्। 

पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो। 

Hardik ivf

दैनिक सङ्क्रमितहरुको सङ्ख्या कम भएपछि भारतका कोरोना भाइरसको महामारी नियन्त्रणउन्मुख हुँदै गएको भन्दै धेरैले सन्तोष र खुशी व्यक्त गरेका छन्। 

भारतमा अहिलेसम्म कूल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड २४ लाख ४९ हजार ३०६ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४४ हजार १५७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त भएकाहरुको कूल सङ्ख्या तीन करोड १६ लाख ८० हजार ६२६ पुगेको छ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने तीन लाख ३३ हजार ९२४ पुगेको अधिकारीहरुले जनाएका छन्। यो सङ्ख्या १५५ दिनपछिकै सबैभन्दा कम भएको पनि मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कूल चार लाख ३४ हजार ७५६ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ। तीमध्ये पछिल्लो २४ घण्टामा ३८९ जनाको मृत्यु भएको हो। 

कोरोना परीक्षण पनि तीव्ररुपमा भइरहेको छ। पछिल्लो एक दिनमा १२ लाख ९५ हजार १६० जनाको परीक्षण गरिएको छ। योसँगै अहिलेसम्म कूल ५० करोड ७५ लाख ५१ हजार ३९९ जनाको परीक्षण भएको छ। 

त्यसैगरी भारतमा अहिलेसम्म कूल ५८ करोड २५ लाख ४९ हजार ५९५ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको छ। 
 

प्रकाशित मिति: १४:५३ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्