Kathmandu Press

गण्डकी प्रदेशका मन्त्री थापाले सरकारी सुविधा नलिने

गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सांसद निर्वाचित भएयता कुनै सरकारी सुविधा लिएका छैनन्। पत्रकार सम्मेलन नै गरेर आफूले पाउने सुविधा जनताको विकास र सेवामा खर्च गरेको सार्वजनिक गरेका छन्।
गण्डकी प्रदेशका मन्त्री थापाले सरकारी सुविधा नलिने

पोखरा, भदौ ७ : गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले सांसद निर्वाचित भएयता कुनै सरकारी सुविधा लिएका छैनन् । पत्रकार सम्मेलन नै गरेर आफूले पाउने सुविधा जनताको विकास र सेवामा खर्च गरेको सार्वजनिक गरेका छन् ।

शुक्रबार सार्वजनिक ५८ औँ महालेखा प्रतिवेदनले भन्छ- ‘गण्डकी प्रदेशका मन्त्रीहरूले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएका छन् ।’ तत्कालीन नेकपा सरकार रहँदा प्रदेशका सात मन्त्रीले उक्त भत्ता ऐनविपरीत लिएका थिए । महालेखा परीक्षकको प्रतिवेदनमा ऐनविपरीत भत्ता लिएको खुलासा गरिएको छ । तर, गण्डकीमा नै थापाजस्ता सांसद पनि छन्, जसले ऐनअनुसार पाउने सुविधा लिएका छैनन् । उल्टै आफूले पाउने सुविधामा व्यक्तिगत रकम थपेर सामाजिक क्षेत्रमा खर्च गर्दै आएका छन् ।

२०७५ सालमा उनले १० लाख ५४ हजार रुपैयाँ सामाजिक क्षेत्रमा खर्च गरेका थिए । त्यतिबेला उनले सांसदको हैसियतमा सात लाख रुपैयाँ नौ हजार रुपैयाँ पाउँथे । उक्त सुविधामा व्यक्तिगत साढे तीन लाख रुपैयाँ थप गरेर जनताको सुविधा तथा सामाजिक क्षेत्रमा खर्च गरेका थिए ।

२०७६ सालमा पनि उनले प्रदेशसभा सचिवालयबाट आएको आठ लाख ५९ हजार रुपैयाँसहित आफूले थप गरी १२ लाख ४७ हजार रुपैयाँ विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका थिए ।

अहिले उनै थापा प्रदेशको मन्त्री बनेका छन् । मन्त्री बनेपछि आवास सुविधा नलिने निर्णय गर्दै आफ्नो निवास नै भेटघाटको लागि खुला गरेका छन् ।

आफूले व्यक्तिगत सुविधा नलिने, पाउने सुविधा जनताका लागि खर्च गर्ने प्रतिबद्धता उनले दोहो¥याएका छन् । शनिबार उनले पोखरा–३३ भरतपोखरीका युवालाई व्यक्तिगत खर्चमा १५ थान भलिबल र जाली हस्तान्तरण गरे ।

कार्यक्रममा बोल्दै मन्त्री थापाले खेलकुद सामग्री आफूले प्रदेश सरकारबाट प्राप्त गर्ने पारिश्रमिकबाट प्रदान गरेको जानकारी गराए ।

मन्त्री थापाले प्रदेशमा कांग्रेसको सरकार आएपछि पोखरा–३३ को विकासका लागि बजेट विनियोजन गर्न सफल भएको र हाल सोही अनुरूपको काम भइरहेको बताए । उनले प्रदेशमा कांग्रेसको नेतृत्व हुनु सबैको जित भएको दाबी पनि गरे ।

सरकारी निवास समेत प्रयोग नगरी आफ्नै घरमा बसेका मन्त्री थापाले सरकारी खर्च कटौती गरी विकास निर्माणमा समर्पित हुने प्रतिबद्धता जनाएका छन् ।

पोखरा २१ र ३३ लाई दुर्गम वडा मानिन्छ । मन्त्री थापाले त्यस क्षेत्रको विकासका लागि आफूले सक्दो प्रयास गर्ने बताए । उनले आगामी निर्वाचनमा लक्षित हुने गरी आफ्ना काम कारवाहीलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेकामा जोड दिए ।

उनले कांग्रेसको महाधिवेशन सन्निकट भएकाले पूर्वतयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे । क्षमताअनुसारको जिम्मेवारी दिनेगरी यसपालिको महाधिवेशन सम्पन्न हुनुपर्ने उनको आग्रह छ ।

गण्डकी प्रदेशमा एमाले अध्यक्ष केपी ओली पक्षको राम्रै पकड भएको क्षेत्र भए पनि त्यसलाई भत्काउन कांग्रेससहितको गठबन्धन सरकार सफल भएको उनको तर्क छ ।

कार्यक्रममा कांग्रेस पोखरा ३३ भरतपोखरीका सभापति रामचन्द्र पौडेलले मन्त्री थापालाई पार्टीको साख जोगिने गरी काम गर्न आग्रह गरे । मन्त्री थापाको विषयमा जनस्तरमा आफूले धेरै गुनगान सुनिरहेको र यसलाई यथावत राख्ने गरी कामबाट गति लिनुपर्ने आवश्यकता रहेको उनले बताए । आगामी निर्वाचनमा कांग्रेसको जित सुनिश्चित हुनेगरी काममै ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

कांग्रेस पोखरा ३३ भरतपोखरीका पूर्वसभापति भोजराज आचार्यले अघिल्लो सरकारले नगरेका काम अहिलेको सरकारले गरेर देखाएको दाबी गरे ।

प्रकाशित मिति: १०:५६ बजे, सोमबार, भदौ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्