संसदीय समितिले भन्यो-सेवानिवृत्त कर्मचारीलाई दोहोरो सुविधा नदेऊ
काठमाडाैं, साउन १ : सांसद्हरुले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव....

काठमाडाैं, साउन १ : सांसद्हरुले निजामती सेवाबाट निवृत्त कर्मचारीले राष्ट्रको ढुकुटीबाट दोहोरो आर्थिक सुविधा लिन नपाउने कानूनी व्यवस्था गर्न सुझाव दिएका छन्।
प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि भइरहेको छलफलमा उनीहरुले सेवानिवृत्तिपछि राजनीतिक नियुक्ति पाउने व्यक्तिले दोहोरो आर्थिक सुविधा लिन नपाउने कुरा कानूनमै उल्लेख गर्न आवश्यक रहेको बताएका हुन्।
निजामती सेवाबाट निवृत्त भई संवैधानिक पदमा नियुक्त कतिपय व्यक्तिले निवृत्तिभरण पनि लिइरहेको गुनासो व्यापक रहेको हुँदा यस्तो दोहोरो सुविधा लिन नपाउने गरी कानूनमा सुधार गर्नु जरुरी रहेको सांसदको भनाइ थियो।
नेपाल सरकारका सचिवबाट सेवा निवृत्त भई संवैधानिक निकायमा नियुक्ति पाएको व्यक्तिले नयाँ जिम्मेवारीको पदावधि सकिएपछि पुरानै निवृत्तिभरण पाउने व्यवस्था पनि गलत रहेको भनी त्यसलाई सच्याइनु पर्नेमा केही सांसदले जोड दिएका थिए।
समितिका सदस्य एवं राजपाका नेता राजकिशोर यादवले भने,“भरणपोषणका नाममा जे सुविधा पनि स्वीकार गर्ने प्रवृत्ति ठीक होइन, यसलाई सच्याउनुपर्छ।”
सांसद जनार्दन शर्माले निजामती सेवामा रहेका पुराना व्यवस्था देखाएर यही गरौँ भन्ने भन्दा पनि परिवर्तनको अनुभूति कसरी देखाउन सकिन्छ भन्नेतर्फ सोच्न आग्रह गरे।
सांसद् अन्जना विशङ्खे र प्रेम सुवालले निजामती सेवाबाट अवकाश भइसकेपछि अरु नयाँ जिम्मेवारीमा जान इच्छा गर्नेले पुरानोबाट प्राप्त गर्ने सेवा र सुविधा त्याग्नुपर्ने बताइन्। सांसद्द्वय पम्फा भुसाल र दिलेन्द्रप्रसाद बडूले नयाँ प्रवेशीका लागि तालीम र प्रशिक्षणका नाममा राज्यलाई पर्ने व्ययभार र निवृत्तिभरणको बोझ तत्कालका लागि केही घटाउन निजामती सेवामा उमेरको हद ६० वर्ष पुर्याउन सुझाव दिएका थिए।
समितिका सदस्य रामकुमारी झाँक्रीले घरेलु तथा यौनहिंसा र जातीय छुवाछुतको आरोप लागी सजाय भोगेका व्यक्तिलाई निवृत्तिभरण उपलब्ध गराउन नहुने गरी कानून तर्जुमा गर्न आवश्यक रहेको सुझाव दिइन्।
त्यस्तै बहालवाला कर्मचारीको तलबमान वृद्धि हुँदा निजामतीबाट सेवानिवृत्तलाई पनि निवृत्तिभरण बढ्ने व्यवस्था न्यायोचित नभएको भनी खारेजी गर्न सुझाव सांसदहरुले दिएका थिए। उनीहरुले काम गरेपछि तलब बढ्ने कुरा स्वाभाविक भए पनि कामै नगर्नेको निवृत्तिभरण किन बढाउने भनी प्रश्न गरेका थिए। रासस

-1784896419.png)









