Kathmandu Press

एमालेले माग्यो लुम्बिनीका सभामुख घर्तीको राजीनामा

काठमाडौं, भदौ ६ : एमाले लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ।प्रदेश सांसद विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले...
एमालेले माग्यो लुम्बिनीका सभामुख घर्तीको राजीनामा

काठमाडौं, भदौ ६ : एमाले लुम्बिनी प्रदेश संसदीय दलले सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ।

प्रदेश सांसद विमलाकुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारबाहीलाई मान्यता नदिएकोमा भन्दै एमालेले घघर्तीको राजीनामा मागेका हुन्।

आइतबार एमालेद्वारा आयाजित पत्रकार सम्मेलनमा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सांसदद्वय वली र शाही वैशाख १९, जेठ १९ र ३० गतेको संसदीय दलको बैठकमा सहभागी भएको बताए। त्यसकारण उनीहरू एमाले संसदीय दलका सदस्यकै हैसियतमा रहेको जिकिर ढकालले गरे।

प्रदेशसभा सचिवालयले वली र शाहीलाई पदमुक्त गर्न नसकिने भनी पठाएको पत्रले सभामुख घर्तीको भूमिकामाथि प्रश्न उठेको ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सभामुख आबद्ध दल माओवादी केन्द्रले आफ्ना प्रदेश सदस्यहरूलाई निष्कासन गरेको जानकारी प्रदेशसभालाई २४ घण्टाभित्र सूचना टाँसेर दिए पनि एमाले संसदीय दलले गरेको कारबाहीलाई न्यायाधीशले जस्तै फैसला गरी सदनमा जानकारी गराउनुनपर्ने  भनी गरेकाे निर्णय विधिको शासन र संसदीय मूल्यमान्यताविपरीत तथा पक्षपातपूर्ण रहेको विज्ञप्तिमा उल्लेख छ।

 ‘प्रचलित कानुन, तथ्य, संसदीय मूल्य मान्यतालगायत कुनै कुराले पनि यो क्षेत्राधिकार माननीय सभामुखलाई नदिएकाले स्वतः पद अनुकूूलको आचरण नगरेको प्रस्ट हुन्छ,’ विज्ञप्तिमार्फत ढकालले भनेका छन्, ‘नैतिकताका आधारमा निज सभामुख पूर्णबहादुर घर्ती पदमा बसिरहन मिल्ने देखिँदैन।’

वली र शाहीलाई सांसद पदबाट नहटाएसम्म संसद अवरुद्ध गर्ने क्रम जारी रहने चेतावनी पनि ढकालले दिएका छन्।  

प्रदेशसभा सचिवालयले एमालेलाई पत्राचार गरेर सांसदद्वय वली र शाहीमाथि एमालेको कारबाही प्रक्रिया कार्यान्वयन हुन नसक्ने जानकारी गरेको थियो। 

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, भदौ ६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्