लागूऔषध राखेर पत्रकार मोजिबुल्लाहलाई फसाएकाे भन्दै पत्रकार महासंघद्वारा आपत्ति
काठमाडौं, भदौ ६ : रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखेर उनीसहित चालकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति...
काठमाडौं, भदौ ६ : रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीले नै लागुऔषध राखेर उनीसहित चालकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
महासंघले आइतबार जारी एक प्रेस विज्ञप्ति जारी गरेर उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘रौतहटस्थित होटेल ग्रिन सिग्नल अगाडि रोकी राखेको रौतहटबाट सञ्चालित रौतहट एक्सप्रेसका सञ्चालक पत्रकार महम्मद मोजिबुल्लाहको मोटरसाइकलमा प्रहरीसहितको संलग्नतामा प्रतिबन्धित नाइट्रोभेट टेबलेट लागुऔषध राखेर पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई पक्राउ गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ,’ महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
साउन ३२ गते राति ८ बजेतिर होटेल ग्रिन सिग्नल अगाडि रोकी राखेको पत्रकार मोजिबुल्लाहको मोटरसाइकलमा अपराध अनुसन्धानमा खटिएका नेपाल प्रहरीका घुमुवा प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव, प्रहरी जवान मनोज साहलगायकतका घुमुवा प्रहरी र अन्य बाहिरी व्यक्तिहरूको संलग्नतामा उक्त लागुऔषध राखिएको सिसिटिभी फुटेजमा देखिएको महासंघ रौतहट शाखाले जनाएको छ।
‘देशमा अपराध नियन्त्रण गर्ने र नागरिकको जिउधनको सुरक्षा गर्नेजस्ता कार्यमा खटिएका प्रहरीजस्तो जिम्मेवार निकायबाट यस किसिमको कार्य हुनु अत्यन्त दुःखद र निन्दनीय कार्य हो,’ महासचिव पुरीले भनेका छन्, ‘प्रहरीको यस्तो कार्यबाट आमनागरिकमा प्रहरीप्रतिको विश्वासमा आघात पुग्नका साथै कानुनी राज्यको समेत उपहास भएको महासंघको ठहर छ।’
महासंघले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न र सिसिटिभी फुटेजबाट निर्दोष देखिएका पत्रकार मोजिबुल्लाहसहित उनका चालकलाई तत्काल रिहा गर्न सम्बन्धित निकायसँग माग गरेका छ।












