सम्पत्ति विवरण नबुझाउने कर्मचारीकाे सूची अख्तियारमा पठाइने
काठमाडौं, साउन १ : राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ। सम्पत्ति विवरण नबुझाउने व्य....
काठमाडौं, साउन १ : राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक पदधारण गरेका व्यक्तिलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ। सम्पत्ति विवरण नबुझाउने व्यक्तिकाे सूचि अख्तियारमा पठाइने जनाएको छ।
केन्द्रका सूचना अधिकारी डालनाथ अर्यालले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सूचित गराएको बताए। उनका अनुसार सार्वजनिक पदधारण गरेका पदाधिकारी, निजामती, कर्मचारी, शिक्षक तथा सुरक्षाकर्मीले आर्थिक वर्ष सुरू भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्छ।
जिल्ला समन्वय समिति, गाउँपालिका, नगरपालिकाले प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा बुझाउनुपर्छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको सम्पत्ति विवरण केन्द्रमा पठाउनुपर्छ। यसैगरी आव २०७४-७५ मा करीब १७ हजार १२७ जना सार्वजनिक पदधारण गरेकाले सम्पत्ति विवरण बुझाएका छैनन्।
केन्द्रका उपसचिव अर्यालका अनुसार पाँच लाख ४७८ जनाले मात्र सम्पत्ति विवरण बुझाएका छन्। सम्पत्ति विवरण नबुझाउनेमा सबभन्दा बढी शिक्षक रहेका छन्। ११ हजार एक सय ५७ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् भने निजामतीतर्फ एक हजार ९३९ कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन्।
सम्पत्ति विवरण नबुझाउनेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाही गर्ने व्यवस्था रहेको छ। रासस






