दश महिने शिशु अपहरण गरी बेपत्ता पारेको अभियोगमा एक पक्राउ
सुर्खेत, भदौ ६ : जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३...
सुर्खेत, भदौ ६ : जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले शनिबार यहाँस्थित एयरपोर्ट चोकबाट उनलाई पक्राउ गरेको हो। जिप्रका निरीक्षक कनकबहादुर शाहीले रोकायले शिशुलाई आफूले लिएको स्वीकार गरिसकेको जानकारी दिए। अपहरित शिशु भने अपरिचित मानिसलाई दिएकाले अहिले आफूसँग नभएको बयान उनीले दिएको प्रहरी निरीक्षक शाहीले बताए।
जिप्रका जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जुम्ला हिमा(३ का १९ वर्षीया किशोरीले यही भदौ ३ गते रातिदेखि शिशु हराएको भनेर निवदेन दिएको जानकारी दिए।
‘घटना निकै गम्भीर र संवेदनशील छ’, उनले भने, ‘अनुसन्धानका क्रममा भएकाले अहिले नै यो हो भन्न सकिन्न। हामीले विभिन्न दृष्टिकोणबाट अनुसन्धान गरिरहेका छौं।’
नाटकीय ढङ्गबाट बच्चाको अपहरण
रोकायको अवैध सम्पर्कबाट शिशु जन्मेको बताइएको छ। किशोरीले गत कात्तिक महिनामा शिशुलाई जन्म दिएकी थिइन्। पीडित किशोरीका बुवा शक्तिबहादुर कठायतका अनुसार किशोरीले यस वर्ष राहदेव मावि मोफ्लाबाट माध्यमिक शिक्षा परीक्षा दिएकी थिइन्। उनले भने, ‘छोरीलाई गाउँपालिकामा तालिम दिन्छु भनेर झक्याएर दानबहादुरले जबर्जस्ती सम्बन्ध राख्यो। शिशु जन्मेपछि अपहरण समेत गर्यो। न्याय माग्न जिल्ला प्रहरी कार्यालय जुम्ला पुगेका छौं।’
किशोरीले भनिन्, ‘यही भदौ ३ गते घरनजिकै पसलमा बसिरहेको थिएँ। राति ९स्०० बजेतिर दानबहादुर त्यहाँ आएर मलाई भन्यो, ‘तिम्रो आमालेले बोलाउनुभएको छ। मैले आमाले किन बोलाउनुभयो भनेर हतपत्त शिशुलाई पसलकै ओछ्यानमा राखेर हिँडे। ऊ (दानबहादुर) मसँग आएन। पछि आमाले नातिलाई किन छोडेर आइस्, छिटो यही लिएर आइज भनेर म पसल जाँदा शिशु त्यहाँ देखिन। शिशु हराएपछि करायौं। स्थानीय प्रहरीलाई गुहार्यौं। अहिलेसम्म शिशु भेटिएको छैन।’
किशोरीले रोकायले नाटकीय तवरबाट आफ्नो शिशुलाई अपहरण गरेको आरोप रोकायमाथि लगाएकी छिन्। उनले भनिन्, ‘मलाई झुक्याएर नाटकीय ढङ्गले शिशुको अपहरण गरियो।’
किशोरीले दोषीमाथि कारवाही गरी आफ्नो शिशु सम्पर्कमा ल्याइदिन र आफूलाई न्याय दिन सरकारसँग आग्रह गरेकी छिन्। आरोपित युवा पक्राउ परिसकेकाले थप अनुसन्धानका लागि आज सम्बन्धित जुम्ला पठाइने सुर्खेत प्रहरीले जनाएको छ । रासस









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

