एमाले एकताका लागि दशबुँदे कार्यान्वयनः कार्की
प्रदेश-१ का आन्तरिक मामिला मन्त्री एमाले नेता हिक्मत कार्कीले पार्टी एकताका लागि आफूहरू दशबुँदे सहमतिलाई पूर्ण कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन्।
काठमाडौं, भदौ ५ : प्रदेश-१ का आन्तरिक मामिला मन्त्री एमाले नेता हिक्मत कार्कीले पार्टी एकताका लागि आफूहरू दशबुँदे सहमतिलाई पूर्ण कार्यान्वयन गर्ने पक्षमा रहेको बताएका छन् ।
रिपोर्टर्स क्लबको साक्षात्कारमा उनले भने, ‘कार्यदलले प्रतिवेदन बुझाउनेबित्तिकै एमालेको स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर त्यो प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरिसकेका छौँ । कार्यान्वयनमा गइसकेको छ ।’
अहिले पार्टीभित्र देखिएका केही चुनौति र समस्या समाधानका लागि आफूहरू लागिपरेको उनले बताए । उनले भने, ‘एमालेमा घेराबन्दी देखिएको छ । त्यसलाई तोड्ने प्रयास भइरहेको छ ।’ माधव नेपाल आफ्नो आदर्श नेता भएको उनले उल्लेख गरे । तर, नेपालले अहिले लिएको बाटो गलत भएको र उनी सही गन्तव्यमा नपुग्ने उनले दाबी गरे ।
मन्त्री कार्कीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण एमालेभित्र समस्या उत्पन्न भएको दाबी पनि गरे । र, एमाले र माओवादी केन्द्रबीच एकता गर्नु नै ऐतिहासिक भूल भएको जिकिर गरे ।
एमालेका नेताहरू प्रचण्डको भुलभुलैयामा परेको उनको भनाइ थियो । एमाले अध्यक्ष केपी ओलीलाई आफूहरूले देवता र दूधले नुहाएको व्यक्ति नभनेको उनले बताए । ‘उहाँमा पनि मानवीय कमजोरी होला । तर, यस विषयमा छलफल गरौँ । पार्टीभित्र बहस गरौँ,’ उनले भने ।
पार्टी विभाजनको दोष ओलीलाई मात्रै दिनु पनि गल्ती हुने उनको तर्क थियो । एमालेलाई २ जेठ ०७५ मा फर्काइएको र दशबुँदे प्रतिवेदन पनि पालना भएको जिकिर गरे ।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

