खुला भयो साँघुरिएको खुलामञ्च
पुरानो बसपार्कमा भ्यु टावर निर्माणाधीन रहेकाले तत्कालका लागि ‘पिक एन्ड ड्रप’ प्रणाली लागू गर्नुपरेको महानगरका प्रवक्ता ईश्वरमान डंगोलको भनाइ छ। ‘विकल्पका रूपमा गाेंगबु बसपार्क प्रयोग गर्न सकिन्छ,’ उनले भने।
काठमाडौं भदौ ५ : ०७२ सालदेखि साँघुरिँदै गएको खुलामञ्च खुला भएको छ। १५ वैशाखदेखि काठमाडौं महानगरपालिकाले त्यहाँ राखिएको अस्थायी बसपार्क हटाई ‘पिक एन्ड ड्रप’ प्रणाली लागूू गरेपछि खुलामञ्च खुला भएको हो।
मुलुकको ऐतिहासिक, सांस्कृतिक तथा राजनीतिक परिवर्तनको साक्षी बन्दै आएको छ, खुलामञ्च। तर, ०७२ सालमा पुरानो बसपार्कबाट छुट्ने लामो र छोटो दूरीका सार्वजनिक यातायातका साधन खुलामञ्चमा सारिएको थियो। खुलामञ्च खुला राख्नुपर्ने आवाज सामाजिक क्षेत्रबाट उठ्न थालेपछि १५ वैशाखयता अहिले पूर्ण रूपमा यातायातका साधनलाई त्यहाँबाट हटाइएको छ।
सार्वजनिक यातायातका साधन अहिले सुन्धारा-नेपाल वायु सेवा निगम अगाडि रोक्ने गरिएको छ। केही साधनलाई रानीपोखरी अगाडिपट्टि रत्नपार्कमा रोकिन्छन्।
२३ कात्तिक ०७६ मा अभियन्ताहरूले खुलामञ्चको अतिक्रमण हटाउन माग गर्दै मानव साङ्लो बनाएर प्रदर्शन गरेका थिए। खुलामञ्चमा अनधिकृत पार्किङ, बसपार्क, पसल र टहरा बनाइएको तथा निर्माण सामग्री थुपारिएको बताउँदै ती सबै तत्काल हटाउन माग गरेका थिए।
दरबार हाइस्कुल, निर्वाचन आयोग, लालदरबार, वागदरबार, राष्ट्र बैंक बसेका दरबार र सिंहदरबारको बीचमा रहेको टुँडिखेलको क्षेत्रमा पर्छ, खुलामञ्च। ‘सम्पदा बचाऊ अभियान’का अभियन्ता गणपतिलाल श्रेष्ठ यस क्षेत्रको अलग्गै सांस्कृतिक महत्त्व रहेको बताउँछन्।
‘विगतमा रत्नपार्क निर्माण गरेसँगै टुँडिखेल दुई भागमा बाँडिन पुगेको देखिन्छ,’ उनले भने। त्यससँगै खुलामञ्च, सैनिक मुख्य कार्यालय, सैनिक मञ्च र दशरथ रंगशालाका कारण खुल्लामञ्च साँघुरिँदै गएको उनको भनाइ छ।
१२ वैशाख ०७२ को भूकम्पपछि सार्वजनिक स्थलको संरक्षण गर्नुपर्ने महसुस काठमाडौंका बासिन्दामा पाइन्छ। त्यसैले सार्वजनिक जग्गा तथा खुलामञ्चलाई खुल्ला राख्नकै लागि आवाज उठाउँदै आएको उनले बताए। ‘आवाज उठाइएको ६ वर्षपछि खुला गराउन सफल भएका छौँ,’ उनले भने।
‘भ्यु टावर’ बनाउने बताउँदै पुरानो बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क सारेसँगै व्यापारिक प्रयोजनका लागि खुलामञ्चमा पसल र टहरा निर्माण गरिएको थियो। त्यसलगत्तै खुलामञ्च कब्जा गर्न लागेको भन्दै अभियन्ताले विरोध गरे।
‘चौतर्फी विरोध भएसँगै २४ वैशाख ०७६ मा खुलामञ्चमा निर्माण गरिएका ४० वटा सटर भत्काइएको हो,’ श्रेष्ठले भने, ‘पटकपटक अतिक्रमणमा परेर बचाइएको क्षेत्र हो खुलामञ्च।’
खुलामञ्चमा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात ०७२ सालदेखि अस्थायी रूपमा सञ्चालन हुन थालेको काठमाडौं महानगरपालिकाको भनाइ छ। ती साधनलाई अहिले ‘पिक एन्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाइएको महानगरपालिकाको भनाइ छ। पुरानो बसपार्कबाट काभ्रे र सिन्धुपाल्चोकका लागि छुट्ने बसहरू पनि अहिले ‘पिक एन्ड ड्रप’ प्रणालीमै सञ्चालनमा छन्।
गोंगबुस्थित बसपार्कबाट पनि लामो दूरीका सवारी साधन सञ्चालन गर्न सकिने महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए। ‘खुलामञ्च मासिन लागेका कारण स्थानीय बासिन्दाबाट विरोध भएपछि हटाइएको हो,’ डंगोलले भने, ‘महानगर र अभियन्ताको सहयोगमा खुलामञ्च हटाइएका हौँ।’
पुरानो बसपार्कमा भ्यु टावर निर्माणाधीन रहेकाले तत्कालका लागि ‘पिक एन्ड ड्रप’ प्रणाली लागू गर्नुपरेको उनको भनाइ छ। ‘विकल्पका रूपमा गाेंगबु बसपार्क प्रयोग गर्न सकिन्छ,’ उनले भने।















-(86)-1764936079.jpg)