Kathmandu Press

ओली–प्रचण्डबीच सहमति, पार्टी एकताको काम लगभग टुंगियो

काठमाडौं, असार ३१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीबीच केन्द्रीय सदस्यहरुको जिम....

ओली–प्रचण्डबीच सहमति, पार्टी एकताको काम लगभग टुंगियो
फाइल

काठमाडौं, असार ३१ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीबीच केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँडबारे सहमति जुटेको छ। 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड, केही केन्द्रीय आयोग गठन लगायतका विषयमा सहमति जुटेको हो।

स्रोतका अनुसार अध्यक्षद्वय ओली र प्रचण्डबीच जिल्ला इञ्चार्जको जिम्मेवारी यसअघि तोकिएकैलाई बनाउने सहमति जुटेको छ। यस्तै, पार्टीको केन्द्रीय निकाय रहेको सल्लाहकार समितिमा केशव बडाल र लेखा आयोगको संयोजकको जिम्मेवारी हाल योजना आयोगका उपाध्यक्षसमेत रहेको डा. पुष्प कँडेललाई दिने सहमति पनि बैठकमा भएको छ। 

स्रोतका अनुसार ज्येष्ठ कम्युनिष्ट मञ्चको संयोजकको जिम्मेवारी नन्दकुमार प्रसाईँलाई दिइने छ भने अनुशासन समितिको जिम्मेवारी अमृतकुमार बोहरालाई नै दिने सहमति अध्यक्षद्वयबीच भएको छ।

यस्तै, निर्वाचन आयोगको जिम्मेवारी भने तत्कालीन माओवादी केन्द्रका नेता अमिक शेरचनलाई दिइनेछ।

पार्टीको महत्वपूर्ण विभाग मानिएका  संगठन र प्रचार विभागबारे छलफल भएपनि सहमति जुट्न नसकेको नेकपाका एक नेताले जानकारी दिए। ‘संगठन विभाग र प्रचार विभागबारे पनि छलफल भएको थियो। तर, जिम्मेवारी कसलाई दिने भन्ने विषयमा टुंगो लाग्न सकेन,’ ती नेताले काठमाडौंप्रेससँग भने।

संगठन विभागमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल र बामदेव गौतमले दाबी गरिरहेका छन्। तर, अन्तिममा गौतमले संगठन विभागको जिम्मेवारी पाउने नेकपाको उच्च स्रोतको दाबी छ।  प्रचार विभागको जिम्मेवारी भने योगेश भट्टराईले पाउने सम्भावना प्रबल रहेको ती नेताले बताए।

बैठकमा पोलिटब्युरो गठनबारेको छलफलले भने प्रवेश नै पाएन। बरिष्ठ नेता माधवकुमार नेपालले पोलिट्व्युरो गठन गर्न दबाब दिइरहेका छन्। तर, आज भएको अध्यक्षद्वयबीच भएको छलफलमा पनि पोलिट्व्युरो गठनले स्थान नै पाएन।

अध्यक्षद्वय ओली र प्रचण्डबीचको छलफलमा महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा बादल सहभागी थिए।  अध्यक्षद्वयबीच भएको सहमतिलाई अब बस्ने स्थायी कमिटीको बैठकले अनुमाेदन गर्नेछ।

प्रकाशित मिति: १९:४८ बजे, मंगलबार, असार ३१, २०७६