नेपाललाई छाडेका एमाले नेताहरूको बटमलाइन- १० बुँदे 'यथाशीघ्र' कार्यान्वयन
पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले नेताहरूले १० बुँदे सहमति ‘यथाशीघ्र’ कार्यान्वयन गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन्।
काठमाडौं, भदौ ४ : पार्टी विभाजनमा माधवकुमार नेपाललाई साथ नदिएका एमाले नेताहरूले १० बुँदे सहमति ‘यथाशीघ्र’ कार्यान्वयन गर्न अध्यक्ष केपी ओलीलाई आग्रह गरेका छन् ।
काठमाडौं महाराजगञ्जको एक पार्टी प्यालेसमा भेला भएका पूर्वनेपाल समूहमा रहेका तर उनलाई नयाँ पार्टी गठनमा साथ नदिएका नेताहरूले १० बुँदे सहमतिको कार्यान्वयन नै पार्टी एकताको आधार रहेको बताएका हुन् ।
पूर्वनेपाल समूहका स्थायी समिति सदस्य, केन्द्रीय सदस्य र सांसदहरूको भेलाले यस्तो निष्कर्ष निकालेको हो । एक केन्द्रीय सदस्यका अनुसार बैठकले मुलतः तीनवटा निष्कर्ष निकालेको छ– ओलीलाई १० बुँदे सहमतिको यथाशीघ्र कार्यान्वयन र र १४ जना सांसदलाई कारवाही गर्ने निर्णय फिर्ता लिन तथा माधवकुमार नेपाललाई नयाँ पार्टी दर्ताको निर्णय फिर्ता लिन आग्रह गर्ने ।
१० बुँदे कार्यान्वयनका लागि दिन नतोकी यथाशीघ्र कार्यान्वयनमा ल्याउन अध्यक्ष ओलीलाई आग्रह गर्ने निर्णय गरिएको ती केन्द्रीय सदस्यले जानकारी दिए । उनका अनुसार बैठकले ‘नत्र विद्रोह’ शब्द प्रयोग गरेको छैन । तर, १० बुँदे कार्यान्वयन नभए एमालेमै रहिरहने निष्कर्ष पनि निकालिएको छैन ।
बैठकमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र डा. भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण बिष्ट, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत ५७ जना नेता उपस्थित थिए ।
माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्यहरूको सनाखतका लागि निर्वाचन आयोगले बुधबार बोलाएको छ । त्यसअघि नै १० बुँदे कार्यान्वयन भए अहिले एमालेमै रहेका केही नेताले विद्रोह गरेर नयाँ पार्टीमा जाने जोखिम रहेको विषय बैठकमा उठेको थियो । उनीहरूलाई रोक्न र हाल नेपाललाई साथ दिएका केही नेतालाई एमालेमै फर्काउन पनि १० बुँदे सहमति कार्यान्वयनको विकल्प नभएको धारणा केन्द्रीय सदस्यहरूले बैठकमा राखेका थिए ।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

