संघीयता बलियो भए मात्र सहिदको सपना पूरा हुन्छ : मुख्यमन्त्री शाही
सुर्खेत, भदौ ४ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भए मात्र सहिदको सपना पूरा हुने बताएका छन्।‘प्रदेश स्थापना तथा सहिद दिवस-२०७८’...
सुर्खेत, भदौ ४ : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सङ्घीयता बलियो भए मात्र सहिदको सपना पूरा हुने बताएका छन्।
‘प्रदेश स्थापना तथा सहिद दिवस-२०७८’ को अवसरमा आज उनले शुभकामना सन्देश दिँदै प्रदेश प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्ने यहाँका चार सहिदको बलिदानीबाट कर्णाली प्रदेशको स्थापना भएको बताए।
‘सङ्घीय व्यवस्था स्थापनाका लागि दशकौँदेखि सशस्त्र एवं निशस्त्ररुपमा नेपाली जनताले गरेका बलिदानीपूर्ण सङ्घर्षको पृष्ठभूमिमा कर्णाली प्रदेशवासी जनताले आफ्नो प्रदेश प्राप्तिका लागि बलिदानीपूर्ण सङ्घर्ष गरे,’ उनले भनेका छन्, ‘सङ्घीय संरचना निर्माणका क्रममा हालको कर्णाली र सुदूरपश्चिम प्रदेशलाई एउटै प्रदेश बनाउने गरी भएको निर्णयको विरोध एवं कर्णाली प्रदेशवासीको छुट्टै प्रदेश स्थापना गरिनुपर्ने मागसहित दुईसाता चलेको जनआन्दोलन र चारजना वीरशहीदको बलिदानपश्चात् कर्णाली प्रदेश स्थापना भएको थियो।’
साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिं रजुवारले आजकै दिन वीरगति प्राप्त गरेका थिए। प्रदेश प्राप्तिको आन्दोलनमा अग्रमोर्चामा रहेर लड्दै गर्दा सहादत प्राप्त गर्ने महान् सहिदप्रति उच्च सम्मानसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनले सन्देशमा आन्दोलनमा घाइते भएका योद्धाप्रति उच्च सम्मानसहित स्वास्थ्यलाभको कामना गर्नुका साथै आन्दोलनमा सरिक आम जनसमुदायप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
मुख्यमन्त्री शाहीले संघीयता विरोधी षड्यन्त्रकाविरुद्ध निरन्तर खबरदारी गर्न सबैमा हार्दिक अपिल गर्दै स्वदेश तथा विदेशमा रहनुभएका समस्त कर्णालीवासी दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
उनका अनुसार ‘प्रदेश स्थापना तथा सहिद दिवस-२०७८’ को ऐतिहासिक दिनलाई भव्य रूपमा मनाउने सोच भए पनि कोरोना महामारीको सङ्कटले औपचारिक कार्यक्रम गर्ने अवस्था नरहे पनि दिवसको अवसरमा प्रदेश सरकारले आज कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको विकास र समृद्धिको लागि सरकारले अगाडि सारेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को अभियानमा एकताबद्ध भई अगाडि बढ्न यो दिवसले समस्त कर्णालीवासीमा थप प्रेरणा दिने विश्वास व्यक्त गरे।









![कोटेश्वर महादेवस्थानमा भक्तजनहरुको घुइँचो [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-18_5ad03701-1789368553.jpg)

