सन् २०२२ सम्म बाघको संख्या दोब्बर होला त ?
काठमाडौं, माघ १५ : सय वर्षअघि पृथ्वीमा करिब एक लाख वाघ थिए । चोरी–शिकारी र बनको विनाशका कारण वाघको संख्या तीव्र रुपले घट्यो । र, सय वर्षमै ९७ हज....
काठमाडौं, माघ १५ : सय वर्षअघि पृथ्वीमा करिब एक लाख वाघ थिए । चोरी–शिकारी र बनको विनाशका कारण वाघको संख्या तीव्र रुपले घट्यो । र, सय वर्षमै ९७ हजारभन्दा बढी वाघ नासिए ।
सन् २०१० सम्म आइपुग्दा विश्वमा ३ हजार २ सय बाघमात्रै बाँचेका थिए । त्यही बर्ष हो – १३ देशका सरकार प्रखुख र अधिकारीहरूले रसियाको सेन्ट पिटर्सबर्गमा भेला भई सन् २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने घोषणा गरेको ।
सन् २०२२ आउन अब चार बर्षमात्रै बाँकी छ । तर, बाघको संख्या दोब्बर पार्ने लक्ष्य हासिल गर्नु चाहिँ झन् मुश्किल प्रतीत हुँदैछ । बाघ संरक्षणका प्रयासहरू कमजोर बन्दैछन् । के अबको चार वर्षभित्र विश्वमा साँच्चै ६ हजार ४ सय बाघ पाइएलान् त ?
हालै गरिएको एक अध्ययनले भन्छ – बाघको संख्या दोब्बर पार्ने लक्ष्य असम्भव छैन, तर सन् २०२२ भित्रै त्यसको प्राप्ति चाहिँ निकै चुनौतिपूर्ण छ ।
संरक्षणविद्हरू यो समय–सीमाभित्र बाघको संख्या यति पुर्याउने भन्ने लक्ष्य तय गर्न हिच्किचाउँछन् । किनकि, पर्यावरणीय प्रक्रिया एकदमै अनिश्चित हुन्छ । यो प्रक्रियाले कुन बेला कस्तो मोड लिन्छ भन्ने लख काट्न सकिँदैन ।
न्यू योर्कस्थित वन्यजन्तु संरक्षण समाजसँग सम्वद्ध वाघ विज्ञ उल्लास कारन्थ् भन्छन्, “सन् २०२२ भित्र बाघको संख्या दोब्बर पार्ने लक्ष्य हल्ला बढी र यथार्थ कम हो ।”
पर्यावरणविद् अभिषेक हरिहर कारन्थ्सँग सहमत छन् । उनका अनुसार, सन् २०२२ भित्र बाघको संख्या दोब्बर हुन बाघ वृद्धि दर कम्तीमा ९ प्रतिशत हुनुपर्छ, जुन अस्वभाविक छ ।
आहाराको सहारा
बाघ संरक्षणको मुख्य चुनौति हो – आहाराको कमी । वासस्थान जति साँघुरियो, आहारा पनि उति नै घट्छ । र, आहारा जति घट्यो, बाघको संख्या पनि उत्ति नै घट्छ । यो सिद्धान्त हरेक वन्यजन्तुको हकमा लागू हुन्छ ।
बाघजस्तो मांशाहारी बन्यजन्तुको पुनरुत्थान गर्ने हो भने पर्याप्त शिकार उपलब्ध हुनैपर्छ । वाइल्डलाईफ इन्स्टिच्यूट अफ इण्डियामा कार्यरत बिवश पाण्डव भन्छन्, “मध्य र उत्तर पूर्वी भारतमा प्रशस्त वनहरू छन् । त्यहाँ बाघहरू मज्जाले बिचरण गर्न सक्छन् । तैपनि, त्यहाँ बाघको संख्या निकै कम छ । किनकि, त्यहाँ बाघको आहार छँदै छैन भन्दा पनि हुन्छ ।”
आईयूसीएनका अनुसार बाघले खाने वन्यजन्तुहरूको संख्या निरन्तर घट्दो छ । आहारा नै नपाएपछि बाघको संख्या कसरी बढोस् त !
बाघका लागि आहारामात्रै भएर पुग्दैन । स्वच्छन्द विचरण गर्ने खुला वन क्षेत्र पनि चाहिन्छ । बाघ सानो बन क्षेत्रमा रमाएर बस्न सक्दैन । उसलाई एक ठाउँबाट अर्को ठाउँमा डुलिराख्नुपर्ने हुन्छ । जति डुल्यो, त्यति नै उसको वंशाणुगत गुणको प्रसार राम्रो हुन्छ ।
बन खण्डित हुँदा बाघको पुनरुत्थानमा कस्तो असर पर्छ भन्ने कुराको उदाहरण हो, भारतको राजाजी राष्ट्रिय निकुञ्ज । यो निकुञ्ज क्षेत्रका बनहरू खण्डित हुँदा यहाँ बाघ फस्टाउन नसकेको निष्कर्ष पर्यावरणविद् अभिषेक हरिहरले सन् २००९ मा निकालेका थिए ।
हरिहरले सन् २०१२ मा अर्को निष्कर्ष निकाले, राजाजी राष्ट्रिय निकुञ्ज बिच्छेद हुनुको असर त नेपालमा पनि परेको रहेछ ! त्यहाँका बाघहरू विचरण गर्दै नेपालसम्म आउन पाएनन्, जसले गर्दा पश्चिम नेपालको तराईका बनमा पनि बाघहरू फस्टाएनन् ।
बाघको स्वस्थ जनसंख्याका लागि बाघ विचरण गर्ने करिडोर चाहिन्छ भन्ने कुरा आजभन्दा ३० बर्षअघि नै नेपाल र भारतका संरक्षण योजनामा समेटिएको थियो । तर, अहिलेसम्म त्यस दिशातर्फ खासै पहल भएको छैन ।
जे होस्, बाघको संख्या दोब्बर पार्ने लक्ष्य एउटा सकारात्मक सुरुवात हो । सन् २०२२ मा त्यो लक्ष्य हासिल होस् वा नहोस्, त्यो पक्कै नयाँ यात्राको सुरुवात हुनेछ ।
मोङ्गावेमा प्रकाशित रिपोर्टको संक्षिप्त अनुवाद






