Kathmandu Press

प्रचण्डले भने–पार्टी एकताका बाँकी सबै काम आजै टुंगिन्छन्

काठमाडौं, असार ३१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने द....

प्रचण्डले भने–पार्टी एकताका बाँकी सबै काम आजै टुंगिन्छन्

काठमाडौं, असार ३१ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका बाँकी सबै काम आजै टुंगो लगाउने दाबी गरेका छन्।

असार मसान्तसम्म दुई पार्टीबीचको एकताको सबै काम सम्पन्न गर्ने सार्वजनिक  घोषणा अनुसार नै पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली र आफूबीच छलफल जारी रहेको र सबै काम आजै टुंगो लगाउने तयारी गरिएको प्रचण्डले बताएका हुन्। 

मंगलबार पार्टीको ललितपुर जिल्ला कमिटीको प्रथम पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले दुई अध्यक्षबीच पार्टीको केन्द्रीय सदस्यहरुको कार्य विभाजन, ज्येष्ठ नागरिक मञ्च, सल्लाहकार कमिटी, विभाग, आयोग गठनबारे सहमति भइसकेको पनि बताए। 

प्रधानमन्त्री एवं अर्का अध्यक्ष ओली र आफूबीच भएको सो सहमतिलाई पार्टीको सचिवालय र स्थायी समिति बैठकबाट अनुमोदन गराएर टुंगो लगाउने प्रचण्डको भनाइ छ। उनले पार्टी एकताका सबै कामले पूर्णता पाउने वित्तिकै पार्टी केन्द्रिय कार्य समितिको बैठक बोलाएर जनता र पार्टी संगठनहरुलाई सुदृढ बनाउने गरी राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा पनि गरे।

अध्यक्ष प्रचण्डले दुई पार्टीबीचको एकतालाई असफल बनाउन अझै पनि प्रतिक्रियावादीहरुले षड्यन्त्र गरिरहेको उल्लेख गर्दै सचेत रहन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। उनले जनताले विश्वास गरेर दुई तिहाई प्राप्त गरेको पार्टी र सरकार दुबैले जनताको चाहाना अनुसार काम गर्नुपर्ने चुनौती रहेको पनि दोहोर्‍याए।

प्रचण्डले ठूलो त्याग, संघर्ष र बलिदानको जगमा निर्माण भएको दुई पार्टीबीचको एकतालाई असफल बनाउने देशी, विदेशी प्रतिक्रियावादीहरुको चाहनालाई परास्त गर्न सफल भएकोमा आफूलाई गर्व लागेको पनि बताए।
 

प्रकाशित मिति: १६:३९ बजे, मंगलबार, असार ३१, २०७६