Kathmandu Press

अफगानिस्तानबाट आज १६० नेपाली स्वदेश फर्किँदै

विद्रोही तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। आज थप एक सय ६० जना काठमाडौं आइपुग्न लागेका छन्।
अफगानिस्तानबाट आज १६० नेपाली स्वदेश फर्किँदै

काठमाडौं, भदौ ४ : विद्रोही तालिबानले कब्जा गरेपछि अफगानिस्तानमा रहेका नेपाली स्वदेश फर्किन थालेका छन्। आज थप एक सय ६० जना काठमाडौं आइपुग्न लागेका छन्।

अफगानिस्तानको राजधानी काबुलस्थित विभिन्न राजदूतावासको सुरक्षामा खटिएका नेपाली नागरिकले काबुल छोडेका छन्।

अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापान, जर्मनी राजदूतावासमा कार्यरत नेपालीलाई काबुलबाट दोहा, तासकन्द, अलमाटी, साइप्रस, दुबई, कुवेत र लन्डन लगिएको छ। त्यहाँबाट उनीहरुलाई नेपाल फर्काइने भएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार काबुलमा रहेका संयुक्त राष्ट्रसंघीय मिसन र युनिसेफमा कार्यरत चार सय ७० जनाबाहेक सबै नेपालीले अफगानिस्तान छोडिसेका छन्। बिहीबारसम्म एक हजार नेपालीले काबुल छोडिसेकेको जनाइएको छ।

उनीहरुमध्ये केही नेपाल पुगिसकेका छन्। बिहीबार मात्रै आठ जना नेपाली काठमाडौं पुगेका थिए।

अहिलेसम्म दुई सय ९६ जना नेपाली काठमाडौं पुगेको मन्त्रालयले जनाएको छ।

आज थप एक सय ६० जना चार्टर उडानबाट स्वदेश फर्किन लागेका हुन्। बाँकी नेपाली नागरिक पनि क्रमशः स्वदेश फर्किने मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: ०७:५२ बजे, शुक्रबार, भदौ ४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्