भरतपुरमा सुनियोजित रुपमा इन्टरनेटका तार काटिएको भन्दै इन्टरनेट सेवा प्रदायक संघकाे आपत्ति
काठमाडौं, भदौ ३ : भरतपुरमा गत बुधबारदेखि इन्टरनेट सेवा नै अवरुद्ध भएको छ।नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा...
काठमाडौं, भदौ ३ : भरतपुरमा गत बुधबारदेखि इन्टरनेट सेवा नै अवरुद्ध भएको छ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका केही कर्मचारीहरुले अति आवश्यक इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका इन्टरनेट सेवा प्रदायकहरुका तार (फाइबर) सुनियोजित रुपमा काट्ने काम गरी दूरसञ्चार उपकरणहरुमा समेत क्षति पुर्याएर दूरसञ्चार उपकरणहरुलाई नियन्त्रणमा लिइएको इन्टरनेट सेवा प्रदायक संघले जनाएको छ।
पोल भाडादर बारे उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण केन्द्रिय कार्यालय लगायतका निकायसँग छलफल भईरहेको अवस्थामा भएको कार्र्य निन्दनीय रहेको संघले जनाएको छ। साथै इन्टरनेट सेवा प्रदायकहरुका कर्मचारीहरुलाई धम्कीपूर्ण भाषा प्रयोग गरेर इन्टरनेट सेवा प्रवाह गर्ने तार हटाउन समेत भनिएकाले संघले गृह मन्त्रालय, जिल्ला प्रसाशन कार्यालय भरतपुर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसंचार प्राधिकरण, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएको छ।
संघले बुधबार प्रेस विज्ञप्ती जारी गर्दै दूरसञ्चार ऐन, २०५३ ले गरेको व्यवस्थालाई उल्लंघन गरी गरिएको उक्त क्रियाकलापहरुले दूरसञ्चार ऐन, २०५३ को परिच्छेद –१० सजाय र पुनरावेदनको दफा ४७ दण्ड सजायलाई चुनौती दिएको सम्बन्धित निकायहरुलाई जानकारी गराएको छ।
परिच्छेद–१० सजाय र पुनरावेदनको दफा ४७ को व्यवस्था
(५) कुनै व्यक्तिले बदनियतसाथ दूरसञ्चार लाइन, दूरसञ्चार प्रणाली वा सोसंग सम्बन्धित अन्य कुनै संरचना वा उपकरणमा प्रतिकूल असर पर्ने गरी कुनै काम गरेमा, बिगारेमा वा कुनै किसिमले हानि नोक्सानी पुर्याएमा वा त्यस्तो कामको लागि दुरुत्साहन दिएमा वा त्यस्तो काम गर्न उद्योग गरेमा कसूरको मात्रा हेरी त्यस्तो व्याक्तिलाई हानी नोक्सानीको बिगो बमोजिम जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्नेछ।
(१) कुनै ब्यक्तिले यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियमको उल्लंघन गरेमा वा प्रधीकरणले दिएको आदेश वा नीर्देशनको पालना नगरेमा प्रधीकरणले त्यस्तो ब्यक्तिलाई पचास हजार रुपैँयासम्म जरिवाना गर्न सक्नेछ र त्यस्तो कसुरबाट कसैको हानी नोक्सानी भएको रहेछ भने त्यस्तो हानी नोक्सानीको विगो वा सो बापत क्षतिपूर्ति समेत भराई दिन सक्नेछ।
(३) कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुप्रयोग गरेमा वा अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासंग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी विगो बमोजिम जरिवानासमेत गर्न सक्नेछ।
हालै मिति २०७८÷ ०४÷२४ प. स.पु. वि.०७८÷ ०७९ च.नं.४९६ मा दुरसंचार ऐनको दफा २१ र दफा ४२ को व्यवस्थाबारे नेपाल विद्युत प्राधिकारणलाई नेपाल दुरसञ्चार प्राधिकारणले जानकारी गराउदा समेत यस्ता गैरजेम्बेवारीपूर्ण क्रियाकलाप गरेको संघले आपत्ती जनाएको हो।
उक्त क्रियाकलापले भरतपुरका दशौँ हजार आम उपभोक्ताले इन्टरनेट प्रयोग गर्न नपाएर अनलाइन शिक्षा, बैंकिंग कारोवार गर्नबाट बञ्चित हुन पुगेको संघको भनाइ छ। साथै दूरसञ्चार ऐन, २०५३ लाई उल्लङ्घन गर्ने सबैलाई छिटोभन्दा छिटो कानुनी कारबाहीको दायरामा ल्याउन समेत इन्टरनेट सेवा प्रदायक संघ अनुरोध गरेको छ।











