Kathmandu Press

एमाले विभाजनको असर प्रदेश–१ सरकारमा, मुख्यमन्त्री राईको सरकारमाथि संकट

एमाले विभाजनको असर प्रदेश–१ सरकारमा, मुख्यमन्त्री राईको सरकारमाथि संकट

विराटनगर, भदौ ३ : एमाले विभाजन भएर एमाले समाजवादी गठन भएसँगै त्यसको प्रभाव प्रदेश-१ सरकारमा पर्ने सम्भावना देखिएको छ। हालसम्म मुख्यमन्त्री शेरधन राईले एमालेको स्पष्ट बहुमतसहित सरकारको नेतृत्व गरिरहेका छन्। तर, एमालेका पाँच सांसदले मात्र पनि एमाले समाजवादी रोजेको खण्डमा मुख्यमन्त्री राई अल्पमतमा पर्ने छन्।

प्रदेश १ को प्रदेशसभामा ९३ सांसद छन्। प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसद आवश्यक हुन्छ। यो प्रदेशमा एमालेका ५१ सांसद छन्। तीमध्ये प्रदीपकुमार भण्डारी सभामुख छन्। एमाले समाजवादीको गठनसँगै त्यसमा कतिजना जाने र एमालेमा कतिजना रहने भन्ने स्पष्ट भइसकेको छैन। तथापि, १५ जना सांसदले एमाले समाजवादी रोज्ने सम्भावना रहेको स्रोतको दाबी छ। त्यसो भयो भने एमाले ३६ सांसदमा खुम्चिने छ।

प्रदेश-१ मा कांग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, जसपाका तीन तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका एक/एक सांसद छन्। एमाले विभाजनका कारण एमालेमा ३६ र एमाले समाजवादीमा १५ सांसद रहने आकलन छ।

प्रदेश १ का सांसदहरू लछुमन तिवारी, जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी, कृष्णकुमारी राई एमाले समाजवादीमा रहने लगभग निश्चित रहेको स्रोतको भनाइ छ।

सांसद संख्या थप भएर २० पुग्ने दाबी एमाले समाजवादीका एक नेताको छ। एमाले समाजवादीले दाबी गरेजस्तै १५ सांसदले उक्त पार्टीलाई साथ दिए भने गठबन्धनसँग ५४ सांसद हुनेछन्। र, कांग्रेस, माओवादी केन्द्र, एमाले समाजवादी र जसपाको गठबन्धनले नयाँ सरकार बनाउने छ।

गठबन्धनका दल यसबारे छलफलमा जुटिसकेका छन् । तर, कसलाई मुख्यमन्त्री बनाउने भन्ने टुंगो लागिसकेको छैन । एमाले सचिव भीम आचार्यले एमाले समाजवादीमा आबद्ध भएमा मुख्यमन्त्री बन्ने सम्भावना छ । उनी एमालेमै रहेमा नेता राजेन्द्र राईले मुख्यमन्त्रीमा दाबी गरिरहेको स्रोतको भनाइ छ।

तर कांग्रेस, माओवादी केन्द्रले पनि मुख्यमन्त्रीमा दाबी गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ। यतिखेर माओवादी केन्द्रका तर्फबाट तीनवटा प्रदेशमा मुख्यमन्त्री छन्। संघीय सरकारको नेतृत्वसमेत गरिरहेको कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत पाएको छ।

एमाले समाजवादीले अलि सशक्त ढंगले दाबी गरेका अवस्थामा मुख्यमन्त्री सोही पार्टीको हातमा जाने सम्भावना बलियो छ। किनकि, अन्य कुनै प्रदेशमा उक्त पार्टीको नेतृत्वमा सरकार छैन।

प्रकाशित मिति: १६:१४ बजे, बिहीबार, भदौ ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्