हामीसँग ३१ जना सांसद छन्, ओली नेतृत्वको एमालेसँग एकता हुँदैनः राजेन्द्र पाण्डे
नवगठित एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले आफूहरूसँग प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३१ जना सांसद रहेको जानकारी दिएका छन्।
काठमाडौं, भदौ २ : नवगठित एमाले समाजवादीका नेता राजेन्द्र पाण्डेले आफूहरूसँग प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी ३१ जना सांसद रहेको जानकारी दिएका छन् ।
निर्वाचन आयोगमा पार्टी दर्ताका लागि निवेदन दर्ता गराएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता पाण्डेले अहिलेलाई ९५ सदस्यीय केन्द्रीय कमिटी गठन भएको जानकारी दिए ।
एमालेका ५८ जना केन्द्रीय सदस्यहरू उपस्थित भएर नयाँ पार्टी दर्ता गर्ने निर्णय लिइएको उनले बताए । ‘एमालेमा केपी ओलीले गरेको व्यवहार सहन सकेनौँ । संसद्लाई पटक–पटक भंग गर्ने र त्यसलाई गलत नठान्ने प्रवृत्ति देखियो । हामीले संसद र संविधानको रक्षा तथा पार्टी एकताका निम्ति पटक–पटक आवाज उठायौँ, प्रयत्न ग¥यौँ । तर, त्यो कतैबाट पनि सम्भव नहुने स्थिति बनिसकेपछि आज हामीले नेकपा एमाले (समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हौँ,’ पाण्डेले भने, ‘दल दर्ताको प्रमाणपत्र पाइसकेपछि राष्ट्रिय भेलाका साथ राष्ट्रव्यापी भेला गरेर नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन गर्नेछौँ ।’
अन्य कम्युनिस्ट पार्टीलाई पनि समेटेर वाम आन्दोलनको नयाँ ध्रुवीकरण सुरु गरिने उनले बताए ।
उनका अनुसार नयाँ पार्टीमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता रहने छन् । चुनाव चिह्न बुधबार नतोकिएको र त्यसबारे थप छलफल गरेर निर्णय लिइने उनले बताए । यसअघि कलम चुनाव चिह्न लिएर दर्ताका लागि निवेदन दिएको नेकपा (एकीकृत)सँग पनि पार्टी एकता हुन सक्ने उनले जानकारी दिए ।
ओलीसँग संवादको शृंखला टुंगिएको र एमालेभित्रका इमानदार नेताले त्यस पार्टीलाई पुनर्गठिन गर्न सकेमा त्यस पुनर्गठित पार्टीसँग एकता हुन सक्ने पाण्डेले बताए । केपी ओलीको नेतृत्वमा रहेको अहिलेको अवस्थामा भने पार्टी एकता हुन नसक्ने उनले बताए ।
एमाले उपाध्यक्ष वामदेव गौतम नयाँ पार्टीमा आउने उनले अनुमान गरे । र, अहिले नयाँ पार्टी दर्ताका लागि सहमति नदिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डेलगायत नेतासँग वार्ता अगाडि बढ्ने जानकारी दिए । नयाँ दल दर्ता प्रमाणपत्र पाएपछि सरकारमा जाने योजना रहेको उनले जानकारी दिए ।




-1789386172.jpg)




-1789386172.jpg)

