Kathmandu Press

ओलीले गल्ती गरे भन्दैमा सिंगो पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन, एमालेमै रहन्छुः युवराज ज्ञवाली

काठमाडौं प्रेससँग कुरा गर्दै एमाले उपाध्यक्ष युवराज ज्ञवालीले भने, ‘अध्यक्ष केपी ओलीले गल्ती गर्नुभयो भन्दैमा सिंगो एमाले पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन । म कुनै अमुक व्यक्तिको पछाडि लाग्न सक्दिनँ, एमालेमै रहन्छु।’
ओलीले गल्ती गरे भन्दैमा सिंगो पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन, एमालेमै रहन्छुः युवराज ज्ञवाली

काठमाडौं, भदौ २ : एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आफू वरिष्ठ नेता माधवकुमार नेपालले दर्ता गर्ने नयाँ पार्टीमा नजाने स्पष्ट गरेका छन् ।

‘अध्यक्ष केपी ओलीले गर्नुभयो भन्दैमा सिंगो एमाले पार्टी पंक्तिलाई दण्डित गर्न मिल्दैन । म कुनै अमुक व्यक्तिको पछाडि लाग्न सक्दिनँ, एमालेमै रहन्छु,’ काठमाडौं प्रेससँग कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले भने ।

एमाले उपाध्यक्ष ज्ञवालीको भनाइ जस्ताको तस्तै

जारी भएको राजनीतिक दलसम्बन्धी अध्यादेश एकदमै खतरनाक छ र यसले मुलुकमा अस्थिरता निम्त्याउँछ । यो गलत छ, बेठीक छ । यस्तो अध्यादेश फिर्ता लिनुपर्छ । अध्यादेश आउनासाथ केपी ओलीले माधवकुमार नेपालसहितका सांसदलाई निष्काशन गर्नुभएको छ । यो गलत हो । त्यो कारवाही फिर्ता गर्नुपर्छ ।

अध्यादेश र केपी ओलीजीको कारवाहीको कुनै न कुनै ढंगले कनेक्सन छ । मुलुकको राजनीतिका लागि एकदमै खतरनाक प्रक्रिया र गतिविधि चल्दै छन् । तिनलाई समग्रमा हेर्नुपर्छ, ओली, माधव भन्ने व्यक्तिका कुराहरू होइनन् यी ।

सिंगो राजनीतिक परिस्थितिलाई फेरि अस्थिरतातर्फ धकेल्ने प्रयत्नहरू भइरहेका छन् । ती सबै घटनाक्रम विश्लेषण गरिरहेको छु, नियालिरहेको छु । ती बेठीक हुन्, गलत हुन् ।

अहिले एमालेलाई विभाजन गर्नु आवश्यक छैन । केपी ओलीले गल्ती गरेकै हुन् । केपीले गल्ती गर्दा सिंगो एमाले दण्डित हुनुपर्दैन । एउटा नेताले गल्ती गर्छ र सिंगो पार्टी दण्डित हुन्छ भने त्यो विडम्बना हो र त्यस्तो हुनु हुँदैन ।

पार्टीभित्र कुनै एउटा व्यक्तिको पछाडि लाग्ने र व्यक्ति जाने–छोड्ने भन्ने हुँदैन । अमुकलाई छाड्ने र अमुकको पछाडि लाग्ने होइन, सिंगो नेकपा एमाले, मनमोहन अधिकारी, मदन भण्डारीजस्ता नेताहरू अगाडि बढाएको, उहाँहरूले रगत, पसिना बगाएको पार्टी हो एमाले । मदन भण्डारीको रगत बगेको छ एमालेमा ।

सहिदको रगतबाट बनेको यो पार्टी हो । पार्टीभित्र कतिपय मानिस खराब होलान्, गलत होलान् । तर, सिंगो पार्टी, त्यसको विचार, सिद्धान्त र नवौँ महाधिवेशनको निर्णय बेठीक होइन । निर्वाचनको घोषणापत्र बेठीक होइन । त्यसलाई कार्यान्वयन गर्दा अमुक व्यक्तिहरूबाट गल्ती, कमजोरी भएको छ । 

संसद् विघटन गर्ने पार्टीको संस्थागत निर्णय होइन र त्यसमा संस्था दोषी होइन । संसद् विघटन प्रधानमन्त्रीले गरेका हुन् । र, प्रधानमन्त्रीले गल्ती गरेका हुन् । अदालतले उनलाई सत्ताबाट बाहिर पठाइसक्यो । संसद्ले उनलाई सत्ताबाट हटाइसक्यो ।

यति नै कारणले पार्टी फोड्नु र विभाजित गर्नुपर्छ अनि नेकपा एमालेको लाखौँको पंक्तिलाई दण्डित गर्नुपर्छ भन्ने कुरा गलत हो । जसले भने पनि गलत हो । यो बेठीक हो । यसलाई म मान्दिनँ । किनभने म आफू पनि राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिबारे विश्लेषण गर्न सक्छु । त्यस आधारमा म ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्छु ।

ओलीले गल्ती गर्दैमा सिंगो नेकपा एमाले पंक्तिलाई दण्डित गर्न मिल्दैन ।

प्रकाशित मिति: १५:५८ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्