Kathmandu Press

नेपाल समूहको नयाँ दलमा आधा दर्जन नामबारे छलफल, बहुपदीय प्रणालीको पार्टी बनाउने तयारी

नेपाल समूहका नेता तथा एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाका अनुसार आधा दर्जन नामबारे छलफल भइरहेको छ । छलफल टुंगोमा पुगिसकेको छैन।
नेपाल समूहको नयाँ दलमा आधा दर्जन नामबारे छलफल, बहुपदीय प्रणालीको पार्टी बनाउने तयारी

काठमाडौं, भदौ २ : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ पार्टी दर्ताको अन्तिम तयारी गरेको छ ।

नेपाल समूहका नेता तथा एमाले पोलिटब्युरो सदस्य जगन्नाथ खतिवडाका अनुसार आधा दर्जन नामबारे छलफल भइरहेको छ । छलफल टुंगोमा पुगिसकेको छैन । ‘वरिष्ठ नेता नेपालको आदेश बाँकी छ,’ उनले काठमाडौं प्रेससँग भने, ‘उहाँले जुन नाममा सहमति दिनु हुन्छ, सोही नाममा पार्टी दर्ता गर्ने तयारी छ ।’

उनका अनुसार नेकपापछि क्रान्तिकारी, समाजवादी, लोकतान्त्रिक, नेकपा एमाले समाजवादीलगायत नाममा छलफल भइरहेको छ । ती नाममध्ये एउटा छनोट गर्न नेताहरू जुटेका छन् । ‘सातवटा नाममा छलफल भइरहेको छ,’ खतिवडाले भने 

एमालेमा अध्यक्ष केपी ओलीले सबै अधिकार अध्यक्षमा केन्द्रित गर्ने तयारी अगाडि बढाउँदा नयाँ पार्टी भने बहुपदीय प्रणालीमा आधारित हुने भएको छ ।

करिब अढाइ सय सदस्यीय केन्द्रीय समिति बनाउनेबारे नेताहरू छलफलमा छन् । दुई सय तीन या दुई सय ४१ सदस्यीय केन्द्रीय समिति बन्न सक्ने खतिवडाले जानकारी दिए ।

अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायत पदाधिकारी नयाँ पार्टीमा राखिने भएको छ । पदाधिकारीमा एमालेको पुरानै संरचनालाई आधारित बनाउने तयारी उक्त समूहको छ । स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटीलगायत पार्टी संरचना रहने छन् । ‘पदाधिकारीमा जनही कतिजना राख्ने भन्नेबारे छलफल भइरहेको छ,’ खतिवडाले भने, ‘एमालेकै ढाँचा रहने सम्भावना छ ।’

पाँच उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, पाँच सचिवलगायत पदीय संरचना प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: १३:३४ बजे, बुधबार, भदौ २, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्