Kathmandu Press

पारिश्रमिकमा सबैभन्दा ठूलो लैङ्गिक अन्तरबाट पीडित भारतीय महिला

मानसी मृधा आफ्नै बलबुतामा उभिन चाहन्थिन्। आफ्नै कार होस् भन्ने चाहन्थिन्। पूर्वी भारतको कोलकाता निवासी ३५ वर्षीया मृधाको दुबै सपना पूरा भएको छ। 

सरकारी ....

पारिश्रमिकमा सबैभन्दा ठूलो लैङ्गिक अन्तरबाट पीडित भारतीय महिला

मानसी मृधा आफ्नै बलबुतामा उभिन चाहन्थिन्। आफ्नै कार होस् भन्ने चाहन्थिन्। पूर्वी भारतको कोलकाता निवासी ३५ वर्षीया मृधाको दुबै सपना पूरा भएको छ। 

सरकारी योजना अनुसार वर्षको सुरूमा उनले ‘पिङ्क क्याब’को साँचो पाइन्। यस्ता ट्याक्सी महिलाका लागि मात्रै सञ्चालन गरिएको छ। उनीसहित शहरमा दश जना महिलाले गुलाबी रङ्गको ट्याक्सी चलाउँछन्। अब मृधाको आर्थिक स्वतन्त्रताको संघर्ष टुङ्गिएको छ। 

अन्तर्राष्ट्रिय श्रम संगठनले जनाएअनुसार भारतको श्रम बजारमा मात्रै २४ प्रतिशत महिला प्रवेश गर्छन्। श्रम बजारमा न्युन महिला सहभागिताका थुप्रै र विविध कारण छन्। तीमध्ये अवसरको अभाव मुख्य कारण हो।

Hardik ivf

माध्यमिक तहको शिक्षा लिएका भारतीय युवा पुरूषले मेकानिक, चालक, बजार प्रतिनिधि वा हुलाकीको काम सजिलै पाउँछन्। अक्सफाम भारतले मार्च महिनामा असमानता सम्बन्धी ‘माइन्ड द ग्याप’ नामक दोस्राे प्रतिवेदन सार्वजनिक गर्‍यो। प्रतिवेदनमा महिलाका लागि यसता अवसर कमैमात्र उपलब्ध भएको उल्लेख छ।

माध्यमिक तहको परीक्षामा भारतीय छात्राले छात्रलाई बारम्बार उछिन्छन् तर सीप अनुसारको रोजगार पाउन सक्दैनन्। महिलाका लागि खेत वा भवन निर्माण स्थलमा शारिरीक श्रम गर्ने काममात्रै धेरै उपलब्ध हुने अक्सफामको प्रतिवेदनमा बताइएको छ। माध्यमिक र उच्च शिक्षा हासिल गरेको बालिकाका लागि यो खासै आकर्षक हुँदैन।

अन्यत्रको दाँजोमा भारतमा अत्यन्तै कम महिला काम गर्छन्। काम गर्नेलाई पनि अन्य देशका महिलाले पाउनेभन्दा कम पारिश्रमिक दिइन्छ। अक्सफामले जनाए अनुसार भारतमा लैङ्गिक पारिश्रमिक अन्तर एसियामै सबैभन्दा धेरै छ। समान योग्यताले समान रोजगार पाएका महिलाले पुरूषको तुलनामा औसत ३४ प्रतिशत कम पारिश्रमिक पाउने गरेको अक्सफामले जनाएको छ।

‘यो समावेशीकरण र असमानताको मुद्दा हो,’ प्रतिवेदनमा भनिएको छ। ‘अत्यधिक बेरोजगार महिला र उनीहरूले काम खोज्न छाड्नुको पछाडि आर्थिक र संरचनागत कारणहरू छन्।’

मृधाको कथाले स्वतन्त्रता खोजीरहेका भारतीय महिलाले सामना गर्नुपर्ने बाधाअड्चनको झल्को दिन्छ। छोराको आशमा रहेका बुवाले उनलाई हुर्काउने जिम्मेवारी लिएनन्। आमाले १५ वर्षकै उमेरमा बिहे गरिदिइन्। शिक्षा बन्द भयो। केही वर्षपछि दुर्घटनामा परेर पतिको ज्यान गयो। मृधा र उनका दुई सन्तानलाई घर र माइतीले अस्वीकार गरे।

गाउँमा काम नपाएपछि घरेलु कामदार, श्रमिक वा सुसारे काम गर्न उनी दैनिक रेल चढेर कोलकाता आउजाउ गर्थिन्। सन् २०१६ सम्म मृधाको जीवन यसरी नै चल्यो। त्यो वर्ष गैरसरकारी संस्था आजाद फाउण्डेसनले सवारी चालक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थाहा पाइन्। फाउण्डेसनले ज्ञान र सीप दिएर श्रोतको अभाव झेलिरहेका भारतीय महिलाको सशक्तिकरण गर्दछ।

‘सवारी चालक पुरूषको काम मानिन्छ। तर मेरो पनि पुरूषको जस्तै आर्थिक आवश्यकताहरू छन्,’ मृधाले भनिन्। ‘मेरो पूरा जीवन एउटा चुनौति बनेको छ। त्यसैले यो चुनौति पनि सामना गर्ने निधो गरें। म गाडी कुदाउँछु र पुरूषको काम सफलतापूर्वक गर्छु भन्ने थियो।’

लिङ्गकै आधारमा श्रमशक्तिबाट बहिष्करणमा पर्नेबाहेक भारतीय महिलाका लागि काममाटिकिरहनु निकै कठिन छ। ‘माइन्ड ग्याप’ प्रतिवेदनमा भनिएको छ,‘घरको रेखदेश गर्ने ठूलो भार हुन्छ। महिलाकै जिम्मेवारी मानिने यो काम गरेवापत पारिश्रमिक पाइँदैन। घरबाहिर निस्कनलाई पनि महिलाले सामाजिक बाधाहरूको सामना गर्नुपर्छ। पारिश्रमिक पाइने श्रममा उनीहरू सहभागी हुन सक्दैनन्।’

महिलालाई घरभित्रै सिमीत राख्नाले ‘सार्वजनिक स्थलमा पुरूषको वर्चश्व बढ्दै जान्छ। घरबाहिर निस्कनु असुरक्षित हुनसक्छ। महिलाका लागि अझ असुरक्षित हुनसक्छ’,यल युनिभर्सिटीको दक्षिण एसियाली अर्थशास्त्र अनुसन्धानका निर्देशक च्यारिटी ट्रोयर मुरले बताइन्।

‘श्रमशक्तिमा महिला सहभागीता प्रोत्साहन गर्नुको पछाडि एउटा म्याक्रोइकोनोमिक तर्क छ: महिलाको विशिष्ट जीवन अनुभवको आधारमा पुरूषको दाँजोमा उनीहरूको भिन्न अवधारणा र दृष्टिकोण हुनसक्छ,’ उनले भनिन्,‘सार्वजनिक र निजी क्षेत्रका भाष्यमा पुरूषले हुकुम चलाउँदा आधा जनसंख्याको आवाज नसुनिनसक्छ-त्यसमाथि महिलाले ल्याउनसक्ने धेरै नवीनता र अवधारणा पनि नआउनसक्छ।’ 

व्यवसायिक तालिम समानता ल्याउने एउटा तरिका हुनसक्छ। प्रथम इन्स्टिट्युटकी कार्यक्रम निर्देशक मेधा उनियाल भन्छिन्,‘काम कहाँ पाइन्छ भनेर बालिकालेजानकारी पाउने वातावरण तयार गरे, उनीहरूलाई तालिम दिनसके र त्यसपछि पनि सहयोग दिनसके त्यसले साँच्चिकै परिवर्तन ल्याउनसक्छ।’

कामको सिलसिलामा शहर जाने महिलाले सामना पर्ने चुनौति सम्बोधन गर्नु-जस्तै सुरक्षित आवास, सार्वजनिक सवारीबाट शहरी क्षेत्रमा यात्रा गर्नु र बैंक खाता खोल्नु-यो प्रक्रियाको अर्को महत्वपूर्ण पक्ष भएको उनियालले बताइन्।

साधारणतया भारतका कामकाजी आमालाई सहयोगको अभाव छ। त्यसैले चित्तबुझ्दो काम पाउने शिक्षित महिलाले ‘क्यारियर’ वा परिवारमध्ये बाध्य भएर एउटा रोज्नुपर्छ। श्रेया (परिवर्तित नाम) मुम्बई उपनगरमा बस्छिन्। उनका दुई सन्तान छन्। उनी एउटा बहुराष्ट्रिय कम्पनीमा काम गर्थिन्। तर सन्तानलाई समय दिनुपर्ने भएकाले काम छोड्नुपर्‍यो। उनको काम र कमाई पनि राम्रै थियो।

‘काममा बाल स्याहार वा घरमा बसेर काम गर्ने विकल्प उपलब्ध भएको भए कामलाई निरन्तरता दिन सहयोग हुन्थ्यो,’ उनले बताइन्। भारतका महिलाले घरायसी काम, सन्तान र वृद्ध आमाबाबुको स्याहारजस्ता थुप्रै काम गर्नुपर्छ। यसतो दैनिक काममा उनीहरूले औसत तीन सय ५२ मिनेट खटिनुपर्छ। तर पारिश्रमिक भने पाउँदैनन्।

अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डिभेलोप्मेन्ट स्ट्याट्स्टिक्सले जनाए अनुसार महिलाको दाँजोमा पुरूषले औसत ५२ घण्टा मात्रै यसता काममा समय लगानी गर्छन्। तर यो समय निशुल्क हुनुपर्छ भन्ने छैन। यसबाट अर्थोपार्जन गर्न सकिन्छ। इन्टरनेसनल ट्रेड युनियन कन्फेडेरेसनले सन् २०१७ मा निकालेको एउटा प्रतिवेदन अनुसार भारतले कुल ग्राहस्थ उत्पादनको दुई प्रतिशत मात्रै स्वास्थ्य र स्याहार क्षेत्रमा लगानी गरे करिब एक करोड दश लाख रोजगार सिर्जना हुन्छ।

स्वास्थ्यबाहेक शिक्षा क्षेत्र भारतको दोश्रो आर्थिक वृत्त हो जहाँ महिलाको उच्च प्रतिनिधित्व छ। तर त्यस्ता रोजगारले राम्रो आम्दानी हुने कुनै ग्यारेन्टी छैन। सामाजिक नीति कार्यान्वयन गर्न भारत मूलत: महिला सामुदायिक स्वास्थ्यकर्मीको भर पर्दछ। तर उनीहरूको कार्यभार अत्यधिक छ र पारिश्रमिक पनि असाध्यै न्यून छ। शिक्षण पेशा पनि अर्थोपार्जनको दृष्टिले आकर्षक छैन। तर शिक्षित महिलाका लागि यो सुरक्षितमध्येको पेशा हो। धेरैजसो भारतीय परिवार र समुदायले शिक्षण पेशालाई स्वीकृति दिएका छन्।

मञ्जु जैसवाल उत्तरपूर्वी राज्य असमको एउटा सरकारी हाइस्कूलकी शिक्षक हुन्। करिब एक दशकसम्म निजी क्षेत्रमा नाम मात्रको पारिश्रमिक लिएर काम गरेको उनले बताइन्। ‘मलाई काम छोड्नु मन थिएन। कम्तिमा काम गर्दै थिएँ र समाजलाई केही योगदान दिइरहेकी थिएँ,’ उनले भनिन्।

कठोर परिस्थितीमा सन्तानलाई एक्लै हुर्काउनुपर्ने जिम्मेवारीले मृधालाई प्रेरित गरेको देखिन्छ। यो कठिन सामाजिक बाधाले भारतका धेरै महिलालाई काम खोज्नबाट रोकेको छ। बाध्यताको आत्मनिर्भरताले उनलाई काम खोज्ने स्वतन्त्रता दियो। यात्रा कठिन भए पनि आफूजस्तै महिलाले काम गर्ने सपना बोकेका महिलाको बाटो बनाइरहेको मृधाको विश्वास छ।

‘पहिले दिएको पारिश्रमिक राख्न बाध्य थिएँ तर अब मेरो काम संगठित भएको छ। अब मैले पाउनुपर्ने जति रकम माग्नसक्छु,’ मृधाले भनिन्,‘मैले त गर्न सकें भने सबैले गर्न सक्छन् भनेर भेटेजति महिलालाई बताउँछु।’
 

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, असार ३१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्